आन्तरिक हवाई उडानमा अत्यधिक चाप

राजागज हात्ती हराएको स्मरणमा बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीसारमा हात्ती पूजा

 बाँके ।बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेका हात्तीहरूको पूजा गरिएको छ। बर्दियामा पाइने एसियाकै ठुलो हात्ती राजागज हराएको स्मरणमा हात्तीसारको चउरमा बनाइएको खमारी (हात्ती बाँध्ने खम्बा) स्थलमा विविध कार्यक्रमसहित हात्ती पूजा गरिएको हो। 

 

परम्परागत रूपमा दसैँका अवसरमा हात्तीबाट सुँगुरका पाठा कुल्चाउने परम्परा तथा हात्तीबिच खेलाइने फुटबल प्रतियोगिता अन्त्य गर्दै हात्ती पूजा गर्ने परम्परा थालिएको आयोजक चोरीसिकार नियन्त्रण युवा परिचालन अभियान सञ्जाल बर्दियाका अध्यक्ष हेमन्त आचार्यले जानकारी दिनुभएको छ। 

 

 बर्दिया राष्ट्रिय निकुञ्जलाई विश्वमा चिनाउने एसियाकै ठुलो हात्ती राजागज निकुञ्जबाट हराएपछि उसैको सम्झनामा एउटै काठबाट निर्माण गरिएको खमारी गाडेका छौँ। केही वर्षदेखि हात्ती पूजा गर्ने परम्परा थालनी गरेका छौुं, अध्यक्ष आचार्यले भन्नुभयो। उहाँले यस किसिमको कार्यले संरक्षणसँगै स्थानीयको धार्मिक परम्परा जोगाउँदै पर्यापर्यटन विकासमा समेत टेवा पुग्ने विश्वास लिएको बताउनुभयो।

 

गुरुवाबाट हात्तीको पूजा गरिएको छ गुरुवाले पूजा मार्फत जङ्गली हात्तीलाई जङ्गल बाहिर आउन नसक्ने गरी विधिपूर्वक झारफुक गरेर मन्त्रद्वारा बाधेको अध्यक्ष आचार्यको भनाइ छ। पूजापश्चात हात्तीलाई फलफूल, उखु, मिष्टान्न भोजन गराएको उहाँको भनाई छ।

निकुञ्जको आर्थिक सहयोगमा आयोजित हात्ती पूजा कार्यक्रममा संरक्षणका क्षेत्रमा कार्यरत एक दर्जन संस्थाहरूले सहकार्य गरेका छन्।

 

 

हिन्दु धार्मिक मान्यताअनुसार हात्तीलाई गणेश भगवान्को प्रतिकका रूपमा मानिने भएकाले मङ्गलवार पारेर पूजा कार्यक्रम राखेका उहाँले बताउनु। पूजाका माध्यमबाट हात्ती मानवबिच आत्मीयता बढाउँदै दिगो संरक्षणमा टेवा पुग्ने विश्वास स्थानीयबासीको रहेको छ। 

 

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ५ : ०९ बजे