आगो ताप्ने क्रममा घरमा आगलागी हुँदा सिन्धुपाल्चोकमा एक जनाको मृत्यु 

​​​​​​​सिन्धुपाल्चोक । आगो ताप्ने क्रममा घरमा आगलागी हुँदा सिन्धुपाल्चोकमा एक जनाको मृत्यु भएको छ ।

सोमबार बेलुकी ८ः०० बजेतिर काठले बारेको जस्तापाताको छानो भएको एक तले घरमा आगलागी हुँदा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ८ का वर्ष ४५ का लोकबहादुर नेपालीको मृत्यु भएको हाे । 

घरभित्र आगो बाली ताप्ने क्रममा आगलागी भई घरभित्र रहेको एलपी ग्याँस सिलिन्डर पड्किदा उक्त घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिनुभयो । घरधनी लोक बहादुरको पुरै शरीर जलेर घटनास्थलमै ज्यान गएको प्रहरी नायव उपरीक्षक भट्टराईले बताउनुभयो । 

प्रहरीले घटनास्थलमा पुगेर लोकबहादुरको परिवारको अन्य सदस्यलाई भने उद्धार गरेको थियो । अहिले आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छ । 

घट्नाबाट भएको अन्य क्षतिको  विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ७ : ५९ बजे