आजको प्रश्न: बहुभाषिक शिक्षा किन ?

  “बालबालिकालाई के सोच्ने होइन, कसरी सोच्ने भनेर सिकाउनुपर्छ ।” मार्गरेट मीड 

“समाजको दर्शन, विश्वास र भाषाहरू एकातिर शिक्षा र राष्ट्र अर्कातिर भयो भने देश शान्त र समृद्ध बन्न सक्दैन । देशमा राजनैतिक तथा संवैधानिक अस्थिरता कायम भइरहन्छ । जनताहरू भ्रममा परेर अराजक र स्वछन्द राजनीति अनि विचार र चरित्रहीन पात्र र प्रवृत्तिका पक्षमा उभिने वातावरण बनिरहन्छ ।” अहिले हामी यस्तै यस्तै मनस्थिति र परिस्थितिका बीचबाट अगाडि बढिरहेका छौँ । त्यसैले यति बेला कुन दर्शन, कुन भाषा र कस्तो शिक्षा भन्ने प्रश्नमा स्पष्ट भएर मात्र अन्य मुद्दाहरूमा हामी केन्द्रित हुनुपर्छ किनभने नागरिकको मनस्थिति रचनात्मक र सकारात्मक नबन्दासम्म देशको परिस्थिति सकारात्मक बन्दैन ।

दिगो विकासको लक्ष्य हासिल गर्न पनि सबैका लागि राम्रो गुणस्तरीय शिक्षा सुनिश्चित हुनुपर्छ । अन्यथा हाम्रा प्रयास र लगानीहरूले अपेक्षित प्रतिफल दिन सक्दैन । यसका साथै राजनीतिमा अराजकता र स्वछन्दता बढिरहन्छ अनि विचार र चरित्रहीन पात्रहरूको वाहवाही भइरहन्छ अनि देश पछाडि परिरहन्छ । अहिले नेपालको हालत ठ्याक्कै यस्तै छ अनि समाजमा स्वछन्दता र अराजकता पनि बढिरहेको छ ।

भनिन्छ नि “गुणस्तरीय शिक्षा समावेशी पनि हुनुपर्छ ।” विद्यालय जाने उमेरका सबै बालबालिकाहरूलाई बिना कुनै भेदभाव गुणस्तरीय शिक्षाको अवसर उपलब्ध गराउनु राज्यको मुख्य दायित्व हो । किनभने शिक्षामा समावेशिता शैक्षिक रूपान्तरणको मुख्य सिद्धान्त हो । त्यसैले भाषा, वर्ण, जात, क्षेत्र र लिङ्गका आधारमा भेदभाव नगरी शैक्षिक गतिविधिहरू अघि बढाउन राज्यले लगानी बढाउनुपर्छ ।

शिक्षा व्यवस्था कुन दर्शनको जगमा विकास गर्ने? शिक्षाको राष्ट्रिय उद्देश्य के के हुने ? शिक्षाको माध्यम भाषाहरू के के हुन सक्छन् ? यी तीन प्रश्नहरूको उत्तर खोज्नका लागि हाम्रा सामर्थ्यहरूको रचनात्मक प्रयोग गर्नुपर्ने भएको छ । हामीले पूर्वीय र पश्चिमा दर्शनको सन्तुलित प्रयोग गरेर शिक्षा व्यवस्थाको विकास गर्नुपर्छ । शिक्षाको राष्ट्रिय उद्देश्य तय गर्दै शिक्षामा प्रयोग गरिने भाषाहरूका बारेमा पाठ्यक्रममा नै स्पष्ट व्यवस्था गरिनुपर्छ ।

यस लेख आधारभूत शिक्षामा मातृभाषाको प्रयोग किन भन्ने प्रश्नमा केन्द्रित छ । जानेको भाषाका माध्यमबाट सिकाउँदै नयाँ भाषा सिकाउने र नयाँ भाषाका माध्यमबाट उपल्लो कक्षाहरूमा पढ्न पाउने व्यवस्था गर्नुपर्छ भन्ने बहुभाषिक शिक्षाको सैद्धान्तिक परिकल्पना हो । तर बहुभाषिक शिक्षाको सैद्धान्तिक परिकल्पनाका साथ नीतिगत व्यवस्था गरेर यसको कार्यान्वयन गर्न हामीले सकिरहेका छैनौँ ।

हाम्रो विद्यालय शिक्षामा नेपाली भाषालाई मात्र माध्यम भाषाको रूपमा प्रयोग हुँदै आएको छ। अहिले नेपाली भाषालाई अङ्ग्रेजी भाषाले प्रतिस्थापन गर्न खोजिँदै छ र मातृभाषाहरूको प्रयोग गर्न प्रोत्साहित गरिदैन्। शिक्षामा अङ्ग्रेजी भाषाको बढ्दो प्रयोगले हाम्रा भाषाहरू लोप हुने खतरा बढ्दै छ । जहाँ स्थानीय भाषाको प्रयोगको प्रयास भइरहेका छन्, त्यहाँ मातृभाषाहरूको प्रयोग धर्मान्तरणका गतिविधि गर्ने उद्देश्यबाट निर्देशित भएको पाइन्छ ।

शिक्षाले विद्यार्थीहरूलाई आफू, आफ्नो जीवनको उद्देश्य र अर्थ थाहा पाउन सिकाउनु पर्छ, आफ्नो समुदाय र राष्ट्रको पहिचान समृद्ध बनाउने क्षमता विकास गर्न र देशको समृद्धिमा प्रत्यक्ष योगदान गर्ने बनाउन सक्नुपर्छ । तर हाम्रो शिक्षा प्रणालीले त्यो गर्न सकेको छैन किनभने हाम्रो शिक्षाको चरित्र आफ्नोपन छोड्न सिकाउने र नागरिक पलायनमा सघाउने दृष्टिकोणबाट निर्देशित छ । त्यसैले समृद्ध नेपाल र सुखी नेपाली अर्थात् नयाँ नेपाल बनाउनका लागि हामीले हाम्रो शिक्षा व्यवस्थाको चरित्र परिवर्तन गर्नै पर्ने भएको छ । यसका लागि हामी कुन दर्शन, कुन भाषा र कस्तो शिक्षा भन्ने प्रश्नमा स्पष्ट हुनुपर्छ । अनि मात्रै दिगो विकासको लक्ष्य प्राप्त गर्न शिक्षाले सहयोगी भूमिका खेल्न सक्छ ।

नेपालको शिक्षा व्यवस्थामा एकल भाषाको एकल प्रयोग बढ्दो छ । जबकि यति बेला बहुभाषिक संस्कृतिलाई बलियो बनाउने गरी भाषाहरूको सन्तुलित प्रयोग सुनिश्चित गरिनुपर्थ्यो। शिक्षामा भाषाहरूको प्रयोगको सवालमा हामीले बाह्य अनुभव र अभ्यासहरूबाट सिकेर नीतिगत व्यवस्था गर्न र लगानी बढाउन राज्यमाथि दबाब बढाउनु पर्ने भएको छ ।

अमेरिकामा पनि मातृभाषाहरूको प्रयोग गर्ने उद्देश्यले बहुभाषिक नीति अपनाउने सङ्केतका साथ बाईडेन–ह्यारिस प्रशासनले भर्खरै एउटा प्रेस वक्तव्य सार्वजनिक गरेको छ । त्यसमा भनिएको छ, “देश बहुभाषिक हुनु महाशक्ति हुनु हो“ विविध कार्यबलको लागि बहुभाषिक शिक्षा प्रवर्द्धन आवश्यक छ ।” यो प्रेस वक्तव्यलाई अरू स्पष्ट पार्दै अमेरिकी शिक्षा मन्त्री मिगल कार्डोनाले भनेका छन्, “एकभन्दा बढी भाषाहरू जान्नु, विद्यालयमा नयाँ भाषा सिक्नु वा पछि जीवनमा नयाँ भाषाहरू सिक्नुले ठोस शैक्षिक, संज्ञानात्मक, आर्थिक र सामाजिक–सांस्कृतिक लाभहरू प्रदान गर्न सक्छ ।”

अमेरिकी सरकारको यो प्रयासले नेपाललगायतका ग्लोबल साउथका देशहरूमा बहुभाषिक शिक्षा कार्यान्वयनमा सकारात्मक वातावरण बनाउन र लगानी जुटाउन हाम्रा नीति निर्माता तथा राजनीतिज्ञहरूको इच्छाशक्ति बढाउन सकारात्मक भूमिका खेल्न सक्छ। यसबाट हाम्रा सार्वजनिक शिक्षालयहरूको गुणस्तर, विश्वसनीयता र स्तर बढाउन विशिष्ट वातावरण बनाउन सघाउने विश्वास गर्न सकिन्छ। नागरिक निर्यात गरेर वस्तु आयात गर्न सिकाउने शिक्षा र सघाउने आर्थिक नीति बदल्नका लागि हामीले सार्वजनिक शिक्षा र शिक्षालयको स्तरोन्नतिका लागि पहिलो प्राथमिकता दिनुपर्छ ।

बहुभाषिक शिक्षाको उद्देश्यहरू
​​​​​​​१.विद्यालय शिक्षाको सुरुवात घरको भाषाबाट गर्न
२.राम्रो सिकाइ सीपहरूको विकास गर्न
३.विद्यार्थी मैत्री विद्यालयको वातावरण बनाउन
४.संज्ञानात्मक क्षमता राम्रो बनाउन
५.विद्यार्थीहरूमा विद्यालय छोड्ने प्रवृत्ति हटाउन
६.विद्यालय शिक्षामा गरिएको लगानी उपलब्धिपूर्ण बनाउन
७.विद्यार्थीहरूलाई जीवनपर्यन्त सिकारु बनाउन
८.विद्यार्थीहरूको समुदायको पहिचान जोगाउन
९.देश समृद्ध र नागरिक सुखी बनाउन
१०.विद्यार्थीहरूलाई वैश्विक नागरिक र विश्व शान्त र समृद्ध बनाउन

हाम्रो राष्ट्रिय स्वार्थ बलियो बनाउने हो भने सबभन्दा पहिले शिक्षा व्यवस्थामा आमूल सुधार गर्ने नीति अख्तियार गर्नुपर्छ । यसका लागि शिक्षाको दर्शन, राष्ट्रिय उद्देश्य र नीति, पाठ्यक्रम, शैक्षिक जनशक्तिको विकास, शिक्षालयको भौतिक सेवा सुविधा र व्यवस्थापन अनि मूल्याङ्कन प्रणालीमाथि पुनरावलोकन गर्नुपर्छ । शिक्षा व्यवस्थाको विकास पूर्वीय चिन्तन प्रणालीको जगमा गर्नुपर्छ । यसका साथै सार्वजनिक शिक्षामा राज्य र नागरिकको लगानी बढाउने संवैधानिक व्यवस्था बनाउँदै शैक्षिक नीति देशमुखी बनाउनुपर्छ । ग्लोबल नर्थका लागि श्रम शक्ति तयार गर्ने र पलायन संस्कृतिलाई बढवा दिने शिक्षाको चरित्रलाई बदलेर वैश्विक नागरिक बनाउने दृष्टिकोणका साथ नयाँ शिक्षा व्यवस्थाको विकास गरिनुपर्छ ।

हामीले बुझ्नुपर्छ, “राम्रो गुणस्तरीय शिक्षा सबल अर्थतन्त्र बनाउने बलियो आधार हो ।” त्यसैले शिक्षा व्यवस्थामा आमूल सुधारको कुरा गर्दा दर्शन र राष्ट्रिय उद्देश्यसँगै भाषाहरूको सन्तुलित प्रयोग पनि मुख्य मुद्दा बन्नुपर्छ किनभने “भाषासँग भाषिक समुदायको मौलिक धर्म संस्कृति, मूल्यमान्यता, पहिचान, ज्ञान, विज्ञान, सीप र कलाहरू जोडिएको हुन्छ ।”

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ९ : १७ बजे