आन्तरिक हवाई उडानमा अत्यधिक चाप

सर्प उद्धारमा विराटनगर महानगरपालिका,पक्रँदै वनलाई बुझाउँदै

विराटनगर । विराटनगर महानगरपालिकाले सर्प उद्धार कार्यका  लागि  नगर प्रहरी मार्फत नगर बासीहरूको घर, पसल, पूजा कोठालगायतका स्थानमा देखा परेका सर्प उद्धार कार्य गर्दै आइरहेको छ ।

 डिभिजन वन कार्यालय मोरङले २०७९ चैत महिनामा ३ दिने  वन्यजन्तु उद्धार तथा व्यवस्थापन तालिम सञ्चालन गरेको थियो । सो तालिमका लागि डिभिजन वन कार्यालय मोरङले  महानगरसँग सहकार्यमा ५ जना नगर प्रहरीहरूलाई तालिममा  सहभागिता गराएको थियो। तालिममा ५ जना नगर प्रहरीहरूलाई डिभिजन वन कार्यालय मोरङले आवश्यक सर्प उद्धारका आवश्यक सामग्रीहरू लाठी, झोला, एप्रोन, जुत्ता, लाइट निःशुल्क उपलब्ध गराएको थियो । 

तालिम लिइसकेपछि नगर प्रहरीहरूले सर्प उद्धार कार्यमा जुट्दै आइरहेका छन् । गत वैशाखयता नगर प्रहरीले विभिन्न प्रजातिका ४८ वटा सर्प उद्धार गरेको महानगरपालिकाका नगर प्रहरी हवलदार शम्भु घिमिरेले जानकारी दिनुभयो ।

सर्प उद्धारका लागि महानगरमा खबर आउनासाथ नगर प्रहरीको टोलीले २४ सै  घण्टा उद्धार कार्यमा जुट्दै आइरहेको उहाँको भनाइ छ । उद्धार गरेका सर्पहरू नगर प्रहरीले डिभिजन वन कार्यालय मोरङलाई संरक्षणका लागि बुझाउँदै आएको उहाँले बताउनुभयो । महानगरको १९ वटै वडामा सर्प उद्धार गर्नुपरेमा महानगरलाई खबर गर्न महानगर बासीलाई उहाँले आग्रह गर्नुभयो ।

महानगरले उद्धार गरेका सर्पहरूमा गोमन १८ वटा, धामन १० वटा, करेत १४ वटा, पनिया दराद १ वटा, गनग्वाली ३ वटा, ढोडिया २ वटा रहेका छन् । महानगरले जनताको सुरक्षाका लागि टिम तयार पारेर दिन या रातको समयमा पनि सर्प उद्धार गर्ने गरेको घिमिरे बताउनुहुन्छ ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ३ : ५१ बजे