एमालेको समृद्धिका लागि सङ्कल्प यात्रा: यात्रा टोली आज कर्णाली प्रवेश गर्दै

काठमाडौँ । नेकपा एमालेले सञ्चालन गरिरहेको समृद्धिका लागि सङ्कल्प यात्राको चौथो दिन आज सुदूरपश्चिमको यात्रा सकेर कर्णाली प्रदेश प्रवेश गर्दैछ ।

अध्यक्ष केपी शर्मा ओलीको कमाण्डमा मध्यपहाडको समृद्धिका सम्भावना पहिल्याउँदै हिँडेको टोली गएराती अछामको मङ्गलसेनमा बास बसेको छ । 

आज मङ्गलसेनबाट टोली कर्णाली प्रदेशको दैलेख जिल्लास्थित राकममा बिहानको खाना खाने योजना रहेको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार आजको बास दैलेख बजारमा हुनेछ । आजको यात्रामा विनायक, राकम, जम्बुकाँध र भगत्रामा भेटघाट हुनेछ । दिउसो दैलेख बजारमा आमसभाको तयारी गरिएको छ ।

नेकपा एमालेले मङ्सिर १४ गतेदेखि मध्य पहाडी राजमार्गको पश्चिमी प्रस्थान विन्दु बैतडीको झुलाघाटबाट यात्रा सुरु गरेको थियो । मध्यपहाडको आर्थिक सामाजिक रूपान्तरणका लागि पक्षमा यो यात्रा जारी गरिएको एमालेले जनाएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ७ : १८ बजे