अपाङ्गता भएका व्यक्तिहरूको न्यायोचित सवाल सम्बोधन हुनुपर्छ :  उपराष्ट्रपति

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अपाङ्गता भएका व्यक्तिहरूको न्यायोचित सवालहरूलाई सम्बोधन गर्नुपर्नेमा जोड दिनुभएको छ । 

३२औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति यादवले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण अपाङ्गता भएका दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र उत्तरोत्तर प्रगतिको कामना गर्दै उपराष्ट्रपतिले नेपाल सरकारलगायत विभिन्न सरकारी र गैरसरकारी सङ्घसंस्थाहरूले गर्दै आएको पैरवीहरू कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ । 

“उहाँहरूलाई अर्काको भर नपर्ने गरी जीवनयापन गर्ने सीप र दक्षता प्रदान गर्दै आत्मनिर्भर र स्वावलम्बी बनाउन पनि आवश्यक छ, किनभने उहाँहरूको सीप, सेवा र क्षमता राज्यको दिगो विकासमा उत्तिकै महत्त्वपूर्ण छ, अपाङ्गता भएका व्यक्तिमैत्री भौतिक संरचना निर्माण र कानुनको पालना सबैले गर्नु पर्दछ”, सन्देशमा उपराष्ट्रपति यादवले भन्नुभएको छ । 

अपाङ्गता भएका व्यक्तिहरूलाई अधिकार सम्पन्न बनाउँदै उहाँहरूलाई विकासको मूल प्रवाहमा समावेश गरी आत्मनिर्भर बनाउन जरुरी भएको बताउँदै उपराष्ट्रपतिले अपाङ्गता भएकाहरूका लागि संवैधानिक व्यवस्थाअनुरूप सामाजिक सुरक्षा, सशक्तीकरण, सहभागिता र समावेशिताका अधिकारलाई अक्षरशः पालना गर्ने दायित्व सबैको भएको सन्देशमा उल्लेख गर्नुभएको छ । 

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ६ : ५० बजे