सुनको मूल्यमा नयाँ कीर्तिमान

दोलखा सुन प्रकरण : ९ जनाबाहेक अरुलाई छोड्न आदेश

दोलखा । दोलखाको उत्तरी फलाक नाका हुँदै अवैध रुपमा भित्रिएको सुन तस्करी प्रकरणमा दोलखा जिल्ला अदालतले ९ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।  जिल्ला अदालतले यस प्रकरणमा जोडिएको तीन जनालाई धरौटीमा छोड्न र अन्य तीन जनालाई सामान्य तारेखमा रिहा गर्न आदेश दिएको छ ।  

जिल्ला न्यायधिश डिल्लीरत्न श्रेष्ठको शुक्रवार बसेको एकल इजलासले सुन तस्करी प्रकरणमा संलग्न रहेकाहरुलाई पूर्पक्ष, धरौटी र साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । अदालतले सुन तस्करीका मुख्य नाईके चिनियाँ नागरिक दावा भनिने आकार लामा, टासि भनिने गेङ रोउ र नुर्वु छिरिङ शेर्पा सहित पेम्बा तमाङ, च्याङवा भनिने चस्मान तमाङ, सनद प्रधान, लाल बहादुर तमाङ, केशर तमाङ र माधव कुमार मगरलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । 

जिल्ला अदालतमा भएको थुनछेक बहसमा तिलक विक, दिपेन्द्रराज शाक्य र महिमा माझिलाई धरौटीमा रिहा गर्न आदेश भएको छ । महिमा माझिलाई १ करोड ७९ लाख ४० हजार, दिपेन्द्रराज शाक्यलाई ९३ लाख ५० हजार र तिलक विकलाई ८८ लाख धरौटीमा छाड्न आदेश भएको हो । धरौटीमा छाड्न आदेश भएकामध्ये महिमा माझि क्रिप्टोकरेन्सी कारोवारमा संलग्न थिइन् भने विक र शाक्य तस्करी गरिएको सुन खरिद गर्ने व्यक्ति हुन् । उनीहरु पनि धरौटी रकम बुझाउ नसकेपछि थुनामा गएका छन् । अदालतको आदेश अनुसार १२ जना थुनामा गएका हुन् । 

अदालतको आदेश अनुसार ९ जना पूर्पक्षका लागि, तीन जना धारौटी बुझाउन नसकेर पूर्पक्षका लागि थुनामा गएका हुन् । सुन प्रकरणमा पक्राउ परेकी सुनमाला तमाङ, चेतनाथ न्यौपाने र एक जना नावालकलाई भने अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ । कल डिटेलमा उनीहरुको सुन तस्करीसँग कनेक्सन नदेखिएको र पक्राउ परेका अन्य व्यक्तिले समेत उनीहरुको विषयमा नबोलेपछि दुई जनालाई साधारण तारेखमा छाड्न आदेश दिइएको हो । 

अदालतले सुन तस्करी प्रकरणका मुख्य नाईके र भरियालाई थुना राख्न आदेश दिएको छ भने सुन खरिद गर्ने व्यक्ति र क्रिप्टोकरेन्सी मार्फत भुक्तनी गर्नेलार्ई धरौटीमा रिहा गर्न आदेश दिएको छ । 
दोलखाको उत्तरी फलाक नाका हुँदै अवैध रुपमा भित्रिएको ११ किलो सुन  असोज ८ गते बरामद भएको थियो । त्यस भन्दा अगाडि पनि दोलखाबाट पटक–पटक गरी १९ किलो सुन अवैध रुपमा भित्र्याएर बेचविखन भएको तथा ३ किलो सुन चिनियाँ नागरिक गेङ रोउ, सनद प्रधान र लाल बहादुर तमाङको संलग्नतामा बेचविखन गरेको देखिएको आदेशमा उल्लेख छ । 

सुन प्रकरणमा १५ जना पक्राउ परेपनि अझै १२ जना फरार रहेका छन् । पक्राउ परेकाहरुमाथि प्रहरीले अनुसन्धान पुरा गरी मंसिर ५ गते जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गरेको थियो । त्यसपछि प्रहरीको प्रतिवेदन अध्ययन गरी जिल्ला सरकारी वकिलको कार्यालयले मंसिर १० गते जिल्ला अदालत पेश गरेको थियो । दोलखा जिल्ला अदालतमा लगातार दुई दिन भएको थनछेकको बहसपछि अदालतको आदेश आएको हो । 

सुन तस्करी प्रकरणमा नेपाल सरकारको तर्फबाट जिल्ला न्यायाधिवक्ता अर्जुन कुमार कोइराला र सहायक जिल्ला न्यायाधिवक्ता पुर्णेन्द्र पाण्डेले बहस गरेका थिए भने प्रतिवादीका तर्फबाट काठमाडौंका दुई जना बरिष्ठ अधिवक्ता सहित १२ जना अधिवक्ताहरुले बहस गरेका थिए । 

 

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  १ : ५५ बजे