सुनको मूल्यमा नयाँ कीर्तिमान

बालकृष्ण खाण थुनामै,अर्को इजलासले गर्नेछ निर्णय

काठमाडाैँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षको लागि थुनामा रहेका पूर्वगृहमन्‍त्री बालकृष्ण खाँणलाई थुनामा राख्ने कि धरौटीमा छाड्ने भन्ने अर्को इजलासले निर्णय गर्ने भएको छ। 

शुक्रबार उच्च अदालत पाटनका न्यायाधीशहरू प्रकाश खरेल र जनक पाण्डेबीच राय बाझिएको हो।

दुई न्यायाधीशले दिएको राय बाझिँदा बालकृष्ण खाण थुनामा बस्ने कि धरौटीमा छुट्ने भन्ने निर्णय हुन सकेन। यस्तो खण्डमा उच्‍च अदालतकै एकल इजलासले सुनुवाइ गर्ने प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए। अर्को हप्ता पेशी तोकिने उनले बताए। 

उनका अनुसार न्यायाधीश जनक पाण्डेले‍ खाणलाई ३० लाख धरौटीमा छाड्नुपर्ने राय दिएका थिए। न्यायाधीश प्रकाश खरेलले भने उनलाई थुनामै पठाउनुपर्ने राय दिएका हुन्।

यस्तै, उच्च अदालत पाटनले भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई १५ लाख धरौटीमा छाड्न आदेश दिएको छ। उनीसँगै हज समितिका अध्यक्ष रहेका शमशेर मियाँलाई १० लाख रुपैयाँ, खाणका स्वकीय सचिव नरेन्द्र केसीलाई १० लाख रुपैयाँ, एमाले नेता टोपबहादुरका छोरा सन्दीपसँग ३० लाख रुपैयाँ र रामशरण केसीसँग १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। 

लक्ष्मी महर्जन र आशिष बुढाथोकीलाई साधारण तारेखमा छाड्न अदालतले आदेश दिएको छ। यसअघि जिल्ला अदालत काठमाडौंले महर्जनलाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।

त्यस्तै, नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएको आरोपमा थुनामा रहेका नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझीलाई भने थुनामै राख्न आदेश दिएको छ। पूर्वसचिव टेकनारायण पाण्डे, सानु भण्डारी, केशव दुलाललाई पनि थुनामै राख्न उच्च अदालत पाटनले आदेश दिएको हो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका २० जनाविरूद्ध ठगी, लिखत कीर्ते, राज्यविरूद्धको अपराध र संगठित अपराधमा गत जेठ १० गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।

अदालतले गत असार १ गते १७ जनालाई थुनामा पठाएर ३ जनालाई धरौटी माग गरेको थियो। टंक गुरूङ, लक्ष्मी महर्जन र केशव तुलाधरसँग धरौटी माग भएको थियो।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ४ : ३८ बजे