एमालेको समृद्धिका लागि सङ्कल्प यात्रा: आज डडेलधुरा र डोटीमा सभा 

काठमाडौँ । नेकपा एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित  ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ विशेष अभियानअन्तर्गत आज डडेलधुरा र डोटीमा सभा हुँदैछन् । 

अभियानको दोस्रो दिन एमालेले डडेलधुराको बसपार्क र डोटीको सिलगढीमा सन्देश सभा गर्न लागेको हो ।  

डडेलधुराको सन्देश सभा अगाडि जिल्लाको सबैभन्दा माथिल्लो भाग अमरगढी जाने एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिव रणबहादुर चन्दले जनाकारी दिनुभयो । आज बिहान १०ः०० बजे अमरगढी जाने, त्यसपछि बसपार्कमा सन्देश सभा गरेर डोटीको यात्रामा निस्कने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार बाटोमा स्थानीय सर्वसाधारण, शिक्षक, विद्यार्थी, सरोकारवाला पक्ष लगायतसँग छलफल अन्तरक्रिया हुनेछ । 

दिउँसो डोटीको सिलगढीमा सभाको आयोजना हुनेछ । त्यसपछि नेताहरू आज दिपायलमा बास बस्ने सचिव चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार शनिवार बिहान अछाम जाने तय भएको छ । 

यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले ७० किलोमिटरको यात्रा हिँड्ने जानकारी दिनुभएको छ । 

सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष ओलीले डडेलधुरादेखि डोटीसम्म ७० किलोमिटर दूरी हिँड्ने जानकारी दिनुभएको हो । उहाँले लेख्नुभएको छ, ‘आज यात्राको दोस्रो दिन अमरगढी, सकाली, गोपघाट, राजपुर चोक, दिपायल हुँदै ७० किलोमिटर दूरी पार गरेर सिलगढी पुग्ने छौँ । यात्रामा भेटौँ है!’ 

बिहीबार अध्यक्ष ओलीले बैतडीको झुलाघाटमा झन्डा फहराएर अभियानको उद्घाटन गर्नुभएको थियो ।  

एमालेले बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्मको यात्रा सुरु गरेको हो ।  एमालेले एक हजार ८७९ किलोमिटर लामो लोकमार्गको यात्राका क्रममा जनताको गुनासो पनि सुन्ने भएको छ ।  

 

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ८ : ३६ बजे