विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

सिरहामा दुई महिलाको हत्या,श्रीमान र ससुरा पक्राउ

 सिरहा । सिरहमा दुई छुट्टाछुट्टै ठाउँमा दुई महिलाको हत्या भएको छ । सिरहा नगरपालिका–१५ सुखचैनाकी ३० वर्षकी सञ्जिता यादवको ७ मंसिरमा र कल्याणपुर नगरपालिका–८ बड्कीटोलकी संगीता कुमारी दासको २७ कात्तिकमा हत्या भएको हो ।

सञ्जिताको हत्या आरोपमा उनका श्रीमान ४० वर्षीय देवेन्द्र यादव र संगीताकुमारीको हत्या आरोपमा ससुरा ५१ वर्षीय रामअशिष दास पक्राउ परेका छन् । पक्राउ परेका दुबै जनालाई बुधबार जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ ।

सिरहाका प्रहरी प्रवक्ता डीएसपी रवीन्द्रराज पाण्डेका अनुसार ७ मंसिरको राति १० बजे देवेन्द्रले बाँसको भाटा र इँटाले सञ्जितमाथि कुटपिट गरेका थिए ।

कुटपिटबाट उनको मृत्यु भएको थियो । घटना ढाकछोप गर्न उपचार गराउन भन्दै भारतको जयनगरतर्फ लगेपछि छिमेकले प्रहरीलाई जानकारी गराएको र अनुसन्धानबाट हत्या गरेको खुलेको डीएसपी पाण्डेले बताए ।

प्रहरीले नेपाल भारत सीमा क्षेत्रबाट करिब ३०/३५ किलोमिटर टाढा भारतको मधुवनी जिल्लाको खजोली थाना अन्तर्गत सेलरा भन्ने ठाउँबाट सञ्जिताको शव बरामद गरेको थियो । देवेन्द्रलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अदालतबाट अनुमति लिइसकेको छ ।

त्यस्तै कल्याणपुर नगरपालिका–८ मा घरायसी विवादको क्रममा ससुरा दासले टाउकोमा बञ्चरो प्रहार गर्दा बुहारी संगीताको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । घटनापछि फरार रहेका दासलाई प्रहरीले मंसिर १ गते पक्राउ गरेको थियो । उनलाई पनि हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  २ : १२ बजे