दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

‘केपी ओली कप राष्ट्रिय क्रिकेट’को सेमिफाइनल समीकरण पूरा

कास्की । पोखरामा जारी ‘केपी ओली कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट’ प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । 

पोखरा रङ्गशालामा मङ्गलवारको दोस्रो खेलमा विभागीय टोली नेपाल आर्मी विजयी भएसँगै प्रतियोगिताको सेमिफाइनल खेल्ने चार टोलीको टुङ्गो लागेको हो । 

भिम सार्की र सन्तोष कार्कीको अर्धशतकीय पारिमा आर्मीले कोशी प्रदेशलाई ३९ रनले पराजित गरेर अन्तिम चारको यात्रा पक्का गरेको हो ।

खेलमा टस जितेर सुरुआती ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ८६ रन बनायो । आर्मीका लागि सुरुआती ब्याट्सम्यान कार्की र सार्कीले अर्धसतकीय पारी खेल्नुभएको थियो ।

बलिङतर्फ कोशी प्रदेशका सर्वण यादवले सर्वाधिक तीन विकेट लिन सफल हुनुभयो । कमल खत्रीले दुई तथा प्रकाश कार्की र सोनु मण्डलले समान एक÷एक विकेट लिनुभयो । जितका लागि एक सय ८७ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको कोशी प्रदेश १८ दशमलव दुई ओभरमा एक सय ४७ रनमा समेटियो । कोसीका लागि सोनु अन्सरीले सर्वाधिक ४४ रन बनाउनुभयो । यसैगरी समीर कार्कीले ३४, सुजन थपलियाले २१ र मनिश थापाले १६ रनको योगदान दिनुभयो । 

यसैगरी मङ्गलवारको पहिलो खेलमा सुदूरपश्चिमले प्रदेशले राष्ट्रिय खेलाडीले भरिएको नेपाल पुलिस क्लबलाई चार विकेटले पराजित गरेको थियो ।  पुलिसले दिएको एक सय ५९ रनको लक्ष्यलाई सुदुरले १८ दशमलव दुई ओभरमा छ विकेटको क्षतिमा पूरा गर्‍यो । 

सुदूरले पुलिसलाई अन्तिम खेलमा पराजित गरे पनि सेमिफाइनल पुग्न भने सकेन । नेट रनरेटको आधारमा मधेस प्रदेश सेमिफाइनल पुग्ने भाग्यमानी टोली बन्यो । आर्मी समूह ‘डि’ मा चार अङ्क बटुल्दै शीर्ष स्थानमा रहन सफल भयो । 

यसैगरी समूह ‘ए’ मा चार अङ्क बटुलेको बागमती प्रदेश, समूह ‘बि’ मा दुई अङ्कका साथ एपिएफ क्लब र समूह ‘सी’ मा दुई अङ्कका साथ मधेस प्रदेशले अन्तिम चारको यात्रा तय गरेका गरेका हुन् । 

सेमिफाइनलको पहिलो खेल बिहीबार आर्मी र बागमती प्रदेश तथा तथा दोस्रो खेल एपिएफ क्लब र मधेस प्रदेशका बीच हुने आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष धुव्र आचार्यले जानकारी दिनुभयो । 

प्रतियोगिताको फाइनल खेल शुक्रवार हुनेछ । यही मङ्सिर ७ गतेदेखि सञ्चालन भएको प्रतियोगिता मङ्सिर १५ गतेसम्म सञ्चालन हुनेछ । 

प्रतियोगिताको च्याम्पियन टोलीले रु पाँच लाख, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उपविजेता टोलीलाई रु दुई लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ले नगद रु ३० हजार, ‘बेस्ट बलर’रु २० हजार पुरस्कार पाउने आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले जनाएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ६ : ४१ बजे