दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सामाजिक सुरक्षा कोषको रकम उत्पादनमूलक क्षेत्रमा लगाउन सुझाव

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक सुरक्षा कोषको पैसा उत्पादनमूलक क्षेत्रमा लगाउन सरकारलाई सुझाव दिनुभएको छ ।

छैटौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा महासङ्घका अध्यक्ष ढकालले सामाजिक सुरक्षा कोषको ६ वर्षको छोटो समयमा नै सामाजिक सुरक्षा कोषमा रु ४५ अर्बभन्दा बढी रकम जम्मा भइसकेको उल्लेख गर्दै सो सुझाव दिनुभएको महासङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

अध्यक्ष ढकालले भन्नुभएको छ– “कार्यविधि बनाएर यसलाई उत्पादन मूलक क्षेत्रमा लगानी गर्नुपर्छ । सामाजिक सुरक्षा कोषको स्थापना भएको छ वर्ष लाग्यो तर यति छोटो समयमा नै कोषले रोजगारदाता र श्रमिकबीच सम्बन्ध सुधारमा महत्त्वपूर्ण काम गरेको छ ।”  

अध्यक्ष ढकालले कोषको पैसा राज्यको आन्तरिक उत्पादनमा लगाउँदै राज्यको दूरदराजमा रहेका विपन्न जनता जो वैदेशिक रोजगारीमा जान चरम आर्थिक सङ्कट बेहोरिरहेका छन् तिनको सहरीकरणमा लगानी गर्नसमेत सुझाव दिनुभएको छ । उहाँले सामाजिक सुरक्षा कोषका कारण निजी क्षेत्रका रोजगारदाताहरू र श्रमिक सम्बन्ध सुमधुर बनाएको बताउनुभयो ।

लामो छलफल र सहकार्यको फलस्वरुप श्रम ऐनको संशोधन र योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्न कानुनी र संस्थागत व्यवस्था भएको अध्यक्ष ढकालले बताउनुभयो । “यो नीतिगत सुधारले सामाजिक रूपान्तरणका हाम्रा प्रयासमा ठुलो सहयोग पुग्ने विश्वास लिएका छौँ,” उहाँले भन्नुभयो । 

अध्यक्ष ढकालले योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको सफल र प्रभावकारी कार्यान्वयनमा महासङ्घको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ७ : १८ बजे