१० लाख खर्चेर बबरमहलमा ‘पेलिकन क्रसिङ’

काठमाडौँ । सरकारले १० लाख खर्च गरेर काठमाडौँको बबरमहलमा पैदल यात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा ल्याएकाे छ । 

सोमबारबाट बबरमहलस्थित जिल्ला अदालत अगाडिको सडकमा पैदल यात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधिको क्रसिङ राखेको हो ।

‘पेलिकन क्रसिङ’ भनिने यस प्रकारको ट्राफिक लाइट आजबाट सञ्चालनमा ल्याइएको हो । सञ्चालनमा आएसँगै सञ्चारकर्मीहरूसँग कुरा गर्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले बटन थिचेपछि पाँच सेकेण्डमा हरियो बत्ती बल्ने र तोकिएको ३० सेकेण्डभित्र पैदल यात्रुले जेब्रा क्रसिङ गरिसक्नुपर्ने बताए । उनले प्रयोग गर्न नजानेको अवस्थामा दुर्घटना बढ्ने र प्रयोग गर्न जान्दा राम्रो हुने बताए ।

‘काठमाडौँ महानगरपालिकाद्वारा आम नागरिकका लागि राखिएको ट्राफिक लाइट हो । यसलाई थिचिसकेपछि यसले सहज रुपमा जुन तोकिएको समय छ, अहिले ३० सेकेण्ड राखिएको छ । त्यो थिचेपछि पाँच सेकेण्ड कुर्नुपर्छ, त्यो कुरेपछि हरियो बत्ती बल्छ, पैदल यात्रुका लागि । ३० देखि ३५ सेकेण्ड तोकिएको समयमा क्रस गरिसक्नुपर्छ'उनले भने 'यो उपयुक्त छ र यसलाई प्रयोग गर्न नजानेको अवस्थामा दुर्घटना बढ्छ, प्रयोग गर्न जान्दा त्यसले सूचना देखाउँछ, त्यसलाई ख्याल गरेर बाटो काट्नुपर्छ ।'

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  १२ : ३५ बजे