सुनको मूल्यमा नयाँ कीर्तिमान

दुर्गा प्रसाईं नेतृत्वको महाअभियानलाई तीनकुने क्षेत्रमा कार्यक्रम गर्न अनुमति छैन : प्रशासन  

​​​​​​​काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’लाई तीनकुने क्षेत्रमा कार्यक्रम गर्न नदिएको जनाएको छ । 

महाअभियानका अध्यक्ष प्रसाईंले गलत मनसायका साथ आजदेखि तीनकुने क्षेत्रमा कार्यक्रम गर्ने घोषणा गरेकाले उक्त क्षेत्रमा कार्यक्रम गर्न निषेध गरिएको र जबरजस्ती गरे कानुनबमोजिम कारबाही गर्ने चेतावनी स्थानीय प्रशासनले दिएको छ। 

शान्ति सुरक्षामा गम्भीर असर पार्ने गरी प्रचलित कानुन विपरीतका गतिविधि गरेमा कानुन बमोजिम कारबाही गरिने प्रशासनको चेतावनी छ । 

जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्र प्रसाद आचार्यद्वारा बिहीबार जारी विज्ञप्तिमा गलत मनसायका साथ कार्यक्रम गर्न लागिएको भन्दै स्थानीय प्रशासनबाट अनुमति प्रदान नगरिएको उल्लेख छ।

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान, नेपालले कार्यक्रम समापनका क्रममा र पत्रकार सम्मेलनमार्फत उत्तेजक, अराजक, हिंसात्मक, ध्वंसात्मक गतिविधि गर्न उक्साउने र व्यक्ति–केन्द्रित भई घृणाजन्य अभिव्यक्ति दिँदै स्थानीय प्रशासनसँग कुनै समन्वय नगरी आजदेखि काठमाडौँको तीनकुने क्षेत्रमा भेला जम्मा भई निषेधित क्षेत्रतर्फ प्रवेश गर्ने, सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने र शान्ति सुरक्षा तथा अमनचयन बिथोल्ने मनसायले कार्यक्रम सार्वजनिक गरेकोमा यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ। यसरी गलत मनसायका साथ कार्यक्रम गर्नका लागि स्थानीय प्रशासनबाट उक्त स्थल प्रयोग गर्ने अनुमति प्रदान गरिएको छैन’, काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ। 

प्रसाईं समूहले बिहीबार बल्खुमा कार्यक्रम गर्दा पनि युवा सङ्घसँग झडप भएको थियो। तत्काल व्यापक मात्रामा प्रहरी परिचालन गरेर अप्रिय घटना हुनबाट जोगाइएको थियो।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ९ : ०० बजे