‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

बारेकोटमा अझै खुलेनन् भत्किएका ४४ विद्यालय

जाजरकोट । कात्तिक १७ गते बारेकोट–१ रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट भत्किएका विद्यालयमा अझै सञ्चालन हुन सकेका छैनन् । 

बारेकोट गाउँपालिका–६ धुमास्थित कक्षा ४ पढ्ने सविन चलाउने विद्यालयदेखि घरको अवस्था देख्दा बैराग लाग्ने गरेको बताउँछन् । त्रिपालमा बसिरहेका चलाउनेको घर भत्किएपछि किताब पुरिएका छन् ।

घरभित्रको सामानसमेत निकाल्न नपाएको चलाउने परिवारले अहिले खुला आकाशमा त्रिपाल टाँगेर रातदिन कटाइरहेको छ । छोराछोरीका विद्यालयको पोसाकदेखि अन्य सामग्रीसमेत घरमै पुरिएपछि एकसरो कपडामा रहेको चलाउने परिवार सरकारले निर्माण गरिदिने अस्थायी संरचनाका बारेमा रेडियोबाट समाचार सुनेपछि केही आशा पलाएको बताउँछन् । विद्यालय पनि पूरै भत्किएका कारण छोराछोरी कहाँ पढाउने भन्नेमा दोधारमा परेको प्रदीप चलाउनेले बताउनुभयो । अन्यत्र विद्यालय सञ्चालन भएर शैक्षिक काम चलिसके पनि बारेकोटमा अझै आपत्कालीन सिकाइ केन्द्र निर्माण नभएका कारण विद्यालय सञ्चालन हुन सकेको छैन ।

भूकम्पको केन्द्रबिन्दु रहेको बारेकोटमा मानवीय क्षति नभए पनि भौतिक क्षति व्यापक छ । विद्यालय कुनै पनि सग्लो अवस्थामा नरहेको गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बताउनुभयो । भूकम्पको केन्द्र विन्दु रहेको बारेकोटका विद्यालयमा युनिसेफले अस्थायी संरचना निर्माण गर्ने जिम्मेवारी लिएको छ । अन्य ठाउँका विद्यालय चर्केको भए पनि बारेकोटका सबै विद्यालय भत्केका छन् । बारेकोटमा मात्र ४४ विद्यालयका तीन सय १७ कक्षाकोठा ध्वस्त भएपछि विद्यालय सञ्चालन हुन नसकेको गाउँपालिकाका अध्यक्ष गिरीले बताउनुभयो । एक सय १९ वटा शौचालयसमेत काम नलाग्ने गरी भत्किएको उहाँले जानकारी दिनुभयो । तत्काल एक सय ७३ वटा आपत्कालीन सिकाई केन्द्र निर्माण भएमा मात्र कक्षा सञ्चालन गर्न सकिने र नौ  हजार आठ सय ६६ विद्यार्थी अहिले विद्यालयमा आउन नसकेको अध्यक्ष गिरीले बताउनुभयो । 

दसैँ तिहारमा बन्द भएका विद्यालय हिउँदयाममा सञ्चालन हुने गरेका थिए । हिउँदमा अधिकांश पाठ्यपुस्तक पढाइ हुने समय हो । अन्य समयमा विद्यालय खुले पनि पढाइ हुने अवस्था थिएन । अस्थायी रूपमा आपत्कालीन अवस्थामा विद्यालय खुले पनि अधिकांश विद्यार्थीलाई कापी, किताब र पोसाकको आवश्यकता छ । 

जाजरकोटमा चार सय २३ विद्यालयमा क्षति भएको छ । भेरीमा ५५, नलगाडमा ७१ , छेडागाडमा ५३, कुशेमा ५५, शिवालयमा ४०, जुनिचाँदेमा ६५ विद्यालयमा क्षति भएको सामाजिक विकास कार्यालय जाजरकोटका प्रमुख यज्ञश्वर खत्रीले बताउनुभयो । रासस

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ६ : ५० बजे