दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

केपी ओली कपः सन्दीपले सर्वाधिक ४ विकेट लिदाँ बागमतीको जित

काठमाडौँ । केपी ओली कप राष्ट्रिय टी-२० क्रिकेटमा बागमती प्रदेशले मदन भण्डारी स्पोर्टस् एकेडेमी रेडमाथि फराकिलो अन्तरले जित निकालेको छ।

आजदेखि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा मदन भण्डारी रेडमाथि १०९ रनको जित निकाल्दै बागमतीले सुखद सुरुवात गरेको हो। १८५ रनको विजयी लक्ष्य पाएको मदनभण्डारी रेड मात्र १४ ओभर दुई बलमा ७५ रन बनाउँदै अलआउट भयो।

रेडका लागि विजय प्रजापति र अमर मिश्राले समान १३/१३, सन्तोष यादवले १२ तथा निर्मल थापाले १० रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्। मदन भण्डारी रेडलाई पराजित गर्न बागमतीका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट झारे। सुवास खत्रीले ३, प्रतिश जिसीले २ तथा रिजन ढकालले १ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा १८४ रन बनाएको थियो। बागमतीका लागि रीत गौतमले सर्वाधिक ७४ रन जोडे। ५३ बलका सामना गरेका उनले ८ चौका र ३ छक्काको मद्दतमा ७४ रन जोड्दा गौरव खड्काले अविजित १७ रनको योगदान गरे। शुभ कंसाकारले २७ रन जोड्दा, सन्दीप लामिछाने १८ र प्रतीक श्रेष्ठ १४ रनमा समेटिए। अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्।

बागमतीलाई सस्तैमा समेट्न मदन भण्डारीका विप्रसन केसीले तीन तथा सन्देश थापा र सन्तोष यादवले समान एक/एक विकेट लिए। भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा भएको ‘केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट’ प्रतियोगिताको आज एमाले अध्यक्ष केपी शर्मा ओलीले बलिङ र ब्याटिङ गर्दै उद्घाटन गर्नुभएको थियो।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा मंसिर १५ गतेसम्म हुने प्रतियोगितामा सात प्रदेशका सात टिम, विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ र आयोजक मदन भण्डारी एकेडेमीका दुई गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको च्याम्पियन टोलीले रु. पाँच लाख, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन्। यसैगरी उपविजेता टोलीलाई २ लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार दिइनेछ।

अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को नियमानुसार खेलाइने प्रतियोगितामा ‘म्यान अफ द प्लेयर’ले नगद रु ३० हजार, ‘बेस्ट बलर’रु २० हजार र ‘प्लेयर अफ द म्याच’ हुनेले नगद रु. पाँच हजार पुरस्कार पाउने आयोजकले जनाएको छ। ‘सबैका लागि खेलकुद’ को नारा सहित विसं २०६६ पुस १७ गते एकेडेमीको स्थापना भएको थियो।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  ५ : ३३ बजे