भरतपुर । भरतपुर महानगरपालिका–१२ मिलनचोकस्थित राजमार्गको पुलमुनि हात खुट्टा बाँधेको दुई जनाको शव फेला परेको छ ।
आज दिउँसो एक बजे उक्त शवहरु फेला परेको चितवन प्रहरीले जनाएको हो । जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता विजयराज पण्डितले हातखुट्टा बाँधेर बोरामा हालेको अवस्थामा महिला र पुरुषको शव भेटिएको जानकारी दिनुभयो ।
दुवै जनाको अनुहार चोट भएका कारण हालसम्म शबको पहिचान गर्न सकिएको छैन । दुवै जनाको हातखुट्टा एकै ठाउँमा बाँधेर राखिएको अवस्था रहेको पण्डितले बताउनुभयो ।
भेटिएको स्थल भरतपुर महानगरपालिका वडा नम्बर ९ र १२को सिमाना मिलनचोक स्थित पूर्व पश्चिम राजमार्गको पूल मुनि पर्छ । घटनास्थलमा निरीक्षणका लागि पुगेका भरतपुर महानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष लेखनाथ पन्तले दुवै जनाको शब छुट्टा छुट्टै जुटको बोरा भित्र रहेको बताउनुभयो ।
मृतकको उमेर अन्दाजी ३५ वर्षको हुन् सक्ने अध्यक्ष पन्तले बताउनुभयो । घटनाको बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार ४ : ४४ बजे
प्रतिक्रिया