सुनको मूल्यमा नयाँ कीर्तिमान

राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाताको मतभार परिर्वतन

काठमाडौँ । काठमाडौँ निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाताको मतभार परिवर्तन गरेको छ।

आयोगले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै जनगणना २०७८ को कूल जनसंख्यालाई आधार मानेर मतभार परिवर्तन गर्ने निर्णय गरिएको जनाएको छ।

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ अनुसार राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षले मतदान गर्न पाउँछन्।

प्रदेशसभा सदस्यका लागि ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको लागि १९ मतभार कायम गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

यसअघि प्रदेशसभा सदस्यको ४८ र स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षको मतभार १८ कायम गरिएको थियो। राष्ट्रिय जनगणना अनुसारको कूल जनसङ्ख्यालाई आधार मानी कायम गर्नुपर्ने भएकाले राष्ट्रिय तथ्याङ्क कार्यालयको सिफारिस समेतका आधारमा मतभार कायम गरिएको आयोगले जनाएको छ ।

नेपालको संविधानको धारा ८६ को उपधारा (३) बमोजिम राष्ट्रिय सभाका एक तिहाइ सदस्यहरूको पदावधि २०८० फागुन २० गते समाप्त हुँदैछ।

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम पद रिक्त हुनुभन्दा ३५ दिन पहिले निर्वाचन गरि सक्नुपर्ने कानुनी व्यवस्था छ । आयोगले माघको दोस्रो साता निर्वाचन गर्ने तयारी गरेको छ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ४ : १५ बजे