भारतले उपहार दिएको ‘मुर्रा राँगा’ आज नेपाल आइपुग्ने

काठमाडौँ । भारतले उपहार स्वरुप दिएका १५ वटा मुर्रा जातको राँगा आज नेपाल भित्र्याइँदै छ ।

बुधबार दिउँसो १ देखि २ बजेभित्र नेपालगस्थित रुपैडिया–जमुनाहा नाकामा आइपुग्ने छन् ।

नेपालजंगस्थित पशु क्वारेन्टाईन कार्यालयका प्रमुख डा.विनयकुमार कर्णका अनुसार ती राँगा ट्रकमा ल्याउन लागिएको हो ।

उनले उन्नत जातको नश्ल सुधारका लागि ल्याउन लागिएका राँगाको स्याहारका लागि एकजना भेटेरिनरी डाक्टर पनि सँगै रहेको बताए ।

उनले आज आइपुग्ने १५ मुर्रा राँगालाई नेपालगञ्जस्थित पशु होल्डिङ्ग सेन्टरमा एक दिनका लागि राखिने बताए । स्वास्थ्य परीक्षण प्रक्रिया पुरा गरेर मात्रै देशका विभिन्न स्थानमा पठाइने उनको भनाई थियोे ।

राँगा नेपाल ल्याएपछि विभाग मातहतका राष्ट्रिय पशु प्रजनन कार्यालय (पोखरा, नेपालगञ्ज र लहान) मा राखिने छ ।

राँगाबाट पोखरा, नेपालगञ्ज र लहानबाटै वीर्य उत्पादन गरिनेछ । सोही स्थानबाट वीर्य संकलन र संरक्षण गरिने जनाइएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  १ : ०१ बजे