महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका वडा नं. ५ स्थित दुर्गा मन्दिरबाट चोरी भएको गरगहनासहित मंगलबार एक जना बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्गा मन्दिरबाट चोरी भएको १४ आना बराबरको सुनको नथिया र टिकासहित उक्त बालकलाई इलाका प्रहरी कार्यालय गौशालाले नियन्त्रणमा लिएको हो ।
प्रहरी नियन्त्रणमा रहेको बालकसँग प्रहरीले सूक्ष्म तवरले सोधपुछ र अनुसन्धान गरिरहेको जनाएको छ ।
बजारको मध्यभागमा रहेको दुर्गा मन्दिरमा माता दुर्गाको आभूषण भारतबाट १० लाख भारुमा खरिद गरी ल्याएको मन्दिरका पुजारी काशिकान्त झाले बताउनुभयो ।
सोमबार छठी पारणका दिन मन्दिरबाट सो आभूषण चोरी भएको पुजारी झाले प्रहरीमा खबर गरेपछि प्रहरीले अनुसन्धानको क्रममा सो वालकलाई मंगलबार नियन्त्रणमा लिएको गौशाला प्रहरी निरीक्षक मनोजकुमार यादवले जानकारी दिनुभयो ।
प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार १ : ०० बजे
प्रतिक्रिया