माफियाका नामले परिचित व्यवसायी दुर्गा प्रसाई यत्तिखेर मुलुकमा राजतन्त्र फर्काउने दिवा स्वप्नमा छन् ।
कहिले कांग्रेस, कहिले माओवादी र कहिले एमालेको फेरो समातेर त कहिले नेताहरुसँग खाना खाएको तस्बिर होस् या कतै दुबईका राजकुमारसँग सुनको लौरो पाएको भन्दै प्रचार गरेरै किन नहोस् आफ्नो व्यवसायीक लाभ लिनसक्ने एक चतुर खेलाडी हुन् प्रसाई ।
नेताहरुको पछिपछि जति नै दग्रुरिए पनि आफ्नो स्वार्थ पुरा गर्न नसकेपछि र विभिन्न बैंकसँग लिएको अर्बौ ऋणले थलापरेपछि प्रसाईमा यत्तिखेर राजतन्त्रको प्रेतआत्मा सवार भएको छ । हो उनी यही प्रेतआत्मालाई जगाएर आफ्नो सपना पुरा गर्ने ध्याउन्नमा छन् ।
मिडिया स्टन्टमा माहिर देखिएका प्रसाईले केही यूट्युबरलाई प्रयोग गरी सस्ता र गुलिया भ्रमका नाराहरु बाँडेर मुलुकमा ब्याप्त असन्तुष्टिलाई आफ्नो पक्षमा पार्ने कुटिल सपना देखेका छन् । सदियौंदेखिको दासताबाट मुक्ति पाएका र सार्बभौम भएका नेपालीहरु के दुर्गा को ‘मुर्गा’ बन्न तयार होलान त ?
हो प्रसाईले भुईमान्छेहरुलाई बैंक तथा सहकारीको ऋण मिनाह गरिदिने प्रलोभन दिएका छन् । धार्मिक मान्छेलाई हिन्दु राज्य कायम गराउने सपना बाँडेका छन् यिनले । पुरातनशक्तिहरुलाई राजतन्त्र व्युँताउने आशा देखाइरहेका छन् यीनले उता युवा शक्तिलाई देशमै रोजगारी दिने गुलियो नारा फलाकेका छन् ।
सम्पतीको लागि आफ्नै ससुराली कुट्ने, माओवादी बनेर सम्पती हत्याउने, माओवादीको प्रयोजनसकिएपछि एमाले बन्ने र एमालेबाट आफ्नो स्वारर्थ पुरा नहुने भएपछि खुँखार राजावादी बनेर निस्कने यीनीबाट एमाले, माओवादी र काग्रेंसले पाउनसम्मको सास्ती खेप्नु पर्यो भने, कुनै समय के राजावादी वा यीनका पछि दर्गुनेहरुले त्यही सास्ती खेप्नु नपर्ला र ?
मुखमा जे आयो त्यही बोल्ने, छाडा, अश्लिल र गतिछाडा भाषण गर्दै जे पायो आरोप लगाउँदा मलाई भनेको होर भन्दै खुच्चिङ गर्दाको परिणाम आज यीनको फन्दाबाट कोही उम्कन नसक्ने अवस्था तयार हुँदैछ । हो यीनका गुलिया नारामा लोभिनुभन्दा अघि खासमा प्रसाईलाई नजिकबाट चिन्नेहरुको कुरा बुझ्ने हो भने उनलाई चिन्न उनको बिगत नै काफि छ ।
भनिरहन पर्दैन दुर्गा प्रसाईको विगत निकै विवादित छ । विवाद नै विवादले भरिएका यीनी कहिले आफुलाई गणतन्त्र ल्याउने महान क्रान्तिकारी भन्दै फलाक्थे । कहिले माओवादी, कहिले एमाले हुँदै यत्तिखेर खुङखार राजावादी दिखिएका यीनलाई खासमा राजावादीसमेत विश्वास गर्दैनन् ।
आफुलाई भुई मान्छेको प्रतिनीधि, मुक्तिदाता भनेर फलाक्ने प्रसाई खासमा दलाली, जग्गा कारोबार र टुप्पोबाट पलाएको नवधनाढ्य हुन् । खासमा यीनी एउटा व्यक्तिले राजनीति र सत्तालाई दुरुपयोग गरेर कसरी अकूत सम्पत्ति कमाउँछ र सम्पत्ति कमाइसकेपछि फेरि कसरी राजनीतिमा हस्तक्षेप गर्छ भन्ने दलाल पुँजीवादी चरित्रका शानदार ‘उदाहरण’ हुन् । पूर्वी पहाडबाट झापा झरेका दुर्गा प्रसाईको परिवार आर्थिक रूपमा सामान्य वर्गको थियो । सुरुमा उनको परिवारको बसोबास हाल अर्जुनधारा नगरपालिकाको बसपार्क रहेको ठाउँ नजिकै थियो । सामान्य खेतीपाती गरेर जिविकोपार्जन चलेको थियो ।
दुर्गा प्रसाईले ८ कक्षाभन्दा बढी पढेनन् । उनले कलिलै उमेरमा विवाह गरे । उनको विवाह आफूभन्दा धनी गिरी परिवारकी कन्यासँग भयो । झापामा चिया बगान चलाएर बसेका गिरी परिवारकी छोरीसँग वैवाहिक सम्बन्ध जोडेपछि दुर्गा प्रसाईको वर्ग धरातल माथि उक्लियो ।
दुर्गा प्रसाईले जोसित बिहे गरेका थिए, उनीपट्टि आमाहरू धेरै थिए । त्यसबेला जमिन्दारको परिवारमा ‘ब्याइते पट्टि’ का र ‘ल्याइते पट्टि’ का सन्तान भन्ने चलन थियो । ससुराली खलकसँग प्रशस्त जग्गा जमिन भए पनि दुर्गा प्रसाईकी श्रीमती र सालाले मागे जति अंश पाएका थिएनन् । हो त्यही जग्गा पाउँनका लागि उनी कुनै समय माओवादीको कार्यकर्ता बनेका थिए ।
हाल बिर्तामोड नगरपालिका–५ मा दुईवटा विशाल भवनमा बीएण्डसी अस्पताल चलिरहेको छ । यही ठाउँ हो, जहाँ ०६२–०६३ को जनआन्दोलन अघिसम्म एउटा सामान्य काठे घर थियो । त्यही टाँडे घरमा दुर्गा प्रसाईको बसोबास थियो । घरले चर्चेको २–४ बिघा जग्गामा धान खेती गरिन्थ्यो । तर, खेतको धनीपूर्जा दुर्गा प्रसाईका सालो वा श्रीमतीका नाममा थिएन, उनीहरूका झड्केलो परिवारकै नाममा थियो ।
दुर्गा प्रसाई एक समय ग्रिल फ्याक्ट्रीमा काम गर्थे । उनी यसोउसो गरेर पैसा कमाउन भन्दै युरोप छिरे । तर, विदेशमा धेरै समय नबसी फर्किए । विदेश गएर भैँसी फार्ममा काम गरेको अनुभव हासिल गरेर आएको उनले अहिले बीएण्डसी अस्पताल रहेकै जग्गामा व्यवसायिकरुपमा भैँसी पाल्न सुरु थाले ।
त्यसबेला प्रसाईको भैँसी फारम देख्नेहरू भन्छन्, ‘सयवटा जति भैँसी व्यवस्थित रूपमा पालिएको थियो उनले । फार्ममा जाँदा प्रसाई हाफपाइन्ट लगाएर काम गरिरहेका भेटिन्थे । एकचोटि दृष्टि साप्ताहिकमा उनको भैँसी पालनबारे फिचर स्टोरीसमेत छापिएको थियो । उनले त्यो बेला २ सयप्रति दृष्टि आफैँले किनेर राखेका थिए ।’प्रसाईले भारतको हरियाणाबाट भैँसी किनेर ल्याउने गरेका थिए । उनी दूध पनि बेच्थे, भैँसी पनि बेच्थे । मेची नदी पार गरेर भारतसम्म गाडीमा दूध बेच्न लैजान्थे ।
बैंकबाट ऋण गरेर शुरु गरेको भैंसीपालन केही समय राम्रैसँग चले पनि प्रसाईले बैंकको किस्ता नियमित तिर्न सकेनन् । बैंकमा थप ऋण माग्न जाँदा नपाएपछि उनले एकचोटि शनिश्चरे रोडमा रहेको बैंकभित्रै २०–२५ वटा भैँसी लगेर हुलिदिएको स्थानीयले अहिलेसम्म बिर्सेका छैनन् ।
त्यतिखेर हरियाणाबाट भैंसीको पैसा माग्न आएका व्यक्ति हप्की खाएर रुँदै फर्केको स्थानीय बताउँछन् । त्यस्तै, पछि अस्पताल बनाउँदा १ करोड बढीको चेक चोरेको आरोप लगाएर चितवनका ठेकेदारलाई प्रहरीमा लगाएर थुनाएका थिए यीनले ।
अन्ततः प्रसाईको भैंसीपालन डुब्यो । उनी बैंकको ऋणमा डुबे । त्यसपछि उनी नेपाली काँग्रेसको समर्थन र आस्था छाडेर भूमिगत माओवादी पार्टीको खोजीमा लागे । माओवादीमा लाग्नुका पछाडि उनको एउटै उद्देश्य थियो, ससुरालीलाई भाटे कारबाही गराउने अनि जग्गा जमिन सालो र श्रीमतीका नाममा पास गर्न लगाउने । प्रसाई यो काममा सफल भए । प्रसाईको योजनामा माओवादीका कार्यकर्ताले ससुराली कृष्ण गिरीका छोरामाथि कुटपिट गरे । छापामारहरुको मरणासन्न हुने गरी कुटाइ खाएपछि त्रसित बनेका उनीहरुले प्रसाईले माओवादी लगाएर मार्ने पो हो कि भन्ने त्रासले २–४ बिघा जग्गा प्रसाईका साला र भाइका नाममा पास गरिदिए ।
त्यसो त माओवादीको साथ लिएर ससुरालीबाट अंश दिलाउने क्रममा प्रसाईले निकै ठूलो रिस्क पनि मोलेका छन् । उनलाई संकटकालमा सेनाले पक्डेर चरम यातनासमेत दिएको थियो । तर, काँग्रेसमा रहेका आफन्तहरूको सोर्स प्रयोग गरेर उनी बाँच्न सफल भए । अन्यथा झापाका धेरै माओवादी कार्यकर्ताहरू मारिएको रेकर्ड छ ।
माओवादीको साथ लिएर जग्गा आफ्नो बनाउन सफल भएको स्वंयम माओवादीका स्थानीय कार्यकर्ता बताउँछन् । यस क्रममा प्रसाईले माओवादीलाई ३० लाख मूल्य पर्ने केही जग्गा पार्टी कार्यालय खोल्नका लागि उपलब्ध गराउने आश्वासन दिए पनि प्रसाइले सो बचन कहिलै पुरा गरेनन् ।
माओवादीलाई प्रयोग गरेर बिर्तामोडको महँगो जग्गा आफ्नो नाममा ल्याएपछि प्रसाईको भाग्य चम्कियो । काठको घर भत्काएर उनले जग्गा प्लटिङ गरे । धुरको ५ लाखसम्म मूल्य लिएर केही बिघा जग्गा बेचेर करोडपति बने । काठमाडौँमा पनि जग्गाको कारोबार गरे । भक्तपुरमा आलिसान महल जोडे, जहाँ पछि ओली र प्रचण्डलाई मार्सी चामलको भात खुवाए ।
तथापि प्रसाईले आर्जन गरेको सम्पत्तिको वास्तविक स्रोत भने अझै रहस्यमय रहेको उनलाई सुरुदेखि चिन्नेहरू बताउँछन् । उनले एक–दुई वर्ष अघिसम्म आफ्नो सबै सम्पत्ति बैङ्कमा राखेर ऋण लिएको बताउने गरेका थिए । जति महँगो मेसिन किन्न पनि उनी सहजै पैसा निकाल्थे । पूर्वमा यति धेरै लगानी गरिएको अस्पतालमा उनको मात्र छ । माओवादीका नाउँमा सेनाले यातना दिएपछि प्रसाईले माओवादीको कुरै नगरौं भन्न थालेका थिए । तर, ०६३ सालपछि माओवादी जब खुल्ला राजनीतिमा आयो, प्रसाईले संकटकालमा पाएको यातनालाई माओवादीका नेतासम्म पुग्ने र्भयाङका रूपमा ‘क्यास’ गर्न रत्तिभर ढिलाइ गरेनन् । उनले माओवादीका ठूला नेताहरूलाई गाडीमा बोक्ने, आर्थिक सहायता दिने, जिल्लामा प्रयोग गर्न सकिनेहरूलाई आर्थिक, भौतिक सहयोग गर्ने इत्यादि कार्यहरू गर्न थाले ।
प्रसाईका लागि माओवादीलाई साथ लिनुपर्ने प्रयोजन सकिएको थिएन । भाटे कारबाहीमार्फत प्राप्त जग्गामा अस्पताल चलाउनु थियो उनलाई । हो त्यसलाई सम्बन्धन दिलाउनु थियो । पहिलो संविधानसभापछि माओवादी सत्तामा पुगेको थियो । त्यसपछि पनि प्रचण्ड कुनै न कुनै रूपमा सत्ताको वरिपरि नै थिए । काँग्रेस पृष्ठभूमिबाट आएका प्रसाईलाई माओवादीको फेर समातेर मात्रै सत्ता स्वार्थ पूरा गर्न सकिने स्थिति थियो । यिनै कारणहरूले प्रसाई प्रचण्डसँग नजिक भए । बिस्तारै एमाले र माओवादीबीच एकता भएपछि उनलाई झनै खूदो पल्टियो । केपी र प्रचण्डलाई एकै ठाउँमा राखेर मार्सी चामलको भात खुवाउन सक्ने भए उनी ।
अस्पताललाई सम्बन्धन दिलाउन सकिन्छ कि भनेर प्रचण्ड र ओलीलाई समाएका यीनले जब नेकपा फुट्यो र प्रचण्ड–ओलीबीच दुरी बढ्यो, प्रसाईले अब आफ्नो लागि प्रचण्डको प्रयोजन सकिएको निष्कर्ष निकाले ।
ओली सत्तामा लामो समय रहलान् भन्ने ठानेर प्रचण्डलाई सत्तोसराप गर्दै हिडेका प्रसाई यत्तिखेर आफ्नो त्यही निहित स्वारर्थ पुरा नभए पछि गर्न खुँखार राजावादी बनेका छन् र एमाले अधयक्ष माथि अनावश्यक गालीगलौज गरिरहेका छन् । कुनै समय आफुलाई असली कम्युनिष्ट भएको बताउँदै कुर्लने प्रसाई यत्तिखेर सिंगो व्यवस्थालाई बदलिदिने काइते कुरा गर्दै कुर्लदै छन् । पैसाको लागि कहिले दुबईको राजपरिवारसँग सम्बन्ध रहेको नाटक गर्ने उनी नेपालका नेता मात्र हैन एउटा फोटो मात्र खिच्न पाए विदेशका नेताहरुलाई समेत प्रयोग गर्ने सामार्थ राख्दछन् ।
सांस्कृतिक चेतना स्तरको कुरा गर्दा प्रसाईको बोलीवचन र संस्कार माक्र्सवादी त परै जाओस्, सभ्य समाजमै नपच्ने खालको छ । पैसा भयो भने पत्रकार, अदालत र सबैथोक किन्न सकिने उनले बताउने गरेको संगातीहरू सुनाउँछन् । यतिसम्म कि पैसा भयो भने अर्काको ‘ओच्छ्यान’समेत किन्न सकिने प्रसाईले बताउने गरेको झापालीहरू सुनाउँछन् । बैंक तथा वित्तीय संस्थाको ऋण नतिर्ने अभियानको नेतृत्व गरेर सडकमा आन्दोलन चलाइरहेका प्रसाईंले वित्तीय क्षेत्रमा अस्थिरता निम्त्याउने कोशिश गर्नु र उनको आठ करोडको जग्गालाई एक अर्ब ७४ करोड ऋण प्रवाहमा सहयोग गर्ने बाहेकलाई कालोमोसो दल्छु भन्नु संयोगमात्र नहुने बैंकिङ क्षेत्रका जानकारहरू बताउँछन ।
हो वर्तमान गणतान्त्रिक व्यवस्थाविरुद्ध नै आन्दोलनको उद्घोष गरेका प्रसाईंका पक्षमा जानी नजानी केही प्रतिकृया आए होलान् । उनका विविध विवादित सम्बन्ध र राजनीति खेलो फड्कोले केही समय चर्चा राम्रौ बटुल्यो होला । अनि उनका गुलिया नारा र बेफाकका झुट सोझा सिँधा जनतालाई साच्चै पो हो कि भन्ने पनि लाग्यो होला । आज देशमा १७ वर्ष पहिला फाँलिएको कुनै वंशवादको पुर्नस्थापना के संभव होला ? दलहरु नराम्रा भए राम्रो छान्ने अधिकार जनतासँग छ । नेताहरु चित्त नबुझे नयाँ नेता छान्न सक्ने व्यवस्था हामी सँग छ । प्रत्येक पाँच वर्षमा हामी यहाँका दलहरुलाई पत्तासाफ गर्न सक्ने तागत जनतासँग छ । कसैका गुलियो नरामा भुलेर पुस्तौ पुस्तालाई दासत्वमा जाक्ने विश्वमै असफल व्यवस्था ल्याउन के आम नेपालीहरु तयार होलान त ? तथापि बर्तमान व्यवस्था विरोधी दुर्गाको मुर्गा बन्न को को तयार होलान् ? हो नेपालको राजनीति देखेर जनता यत्तिखेर केही असन्तुष्ट पक्कै छन् तर ‘टुंगो नभएको बुङ्गो’ प्रसाईसँग सति जान कोही तयार नहाेलान् ।
प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार ६ : २३ बजे
प्रतिक्रिया