सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

दोलखाको लामावगरबाट एक महिनामै ३३ किलो सुन तस्करी

दोलखा । दोलखाको लामावगर नाका हुँदै ३३ किलो सुन भित्रिएको खुलासा भएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार लामावगरको फलाक नाका हुँदै सुन तस्करी गर्ने गिरोहलाई पक्राउ गरी गरिएको अनुसन्धानबाट सो तथ्य खुलेको जनाएको हो ।

तस्करीको सुनका लागि तिरिएको रकम डलर र क्रिप्टो करेन्सी मार्फत भुक्तानी भएको पाइएको छ । दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक (डिएसपी) दिपक खड्काले सुन तस्करीमा संलग्न व्यक्तिहरूको बयान र प्रहरी अनुसन्धानबाट लामावगरको फलाक नाका हुँदै ६ पटकमा ३३ किलो सुन भित्रिएको खुल्न आएको जानकारी दिनुभयो ।

उहाँका अनुसार तस्करहरूको समूहले सुन खरिद बापतको रकम क्रिप्टो करेन्सी र डलर तथा यार्सा गुम्बा र कस्तुरीको बिना समेत पठाएर भुक्तानी गर्ने गरेको पुष्टि भएको छ । 

दोलखा प्रहरी र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईवी) का अधिकारी सहितको संयुक्त टोलीले करिब दुई महिना लगाएर गरेको अनुसन्धानको क्रममा सुन तस्करहरूको समूहले चिनियाँ तस्करलाई नेपालबाट क्रिप्टो करेन्सी अर्थात् डिजिटल वालेट प्रयोग गरी २ अर्ब ९१ करोड ४८ लाख ३२ हजार ५ सय ९३ अमेरिकी डलर भुक्तानी गरेको देखिएको छ ।

सो रकम आजको विनिमय दर अनुसार ३ खर्व ८७ अर्ब ८१ करोड ८४ लाख ७६ हजार ५ सय ९५ रुपैयाँ हुन आउँछ । सुन तस्करी प्रकरणको अनुसन्धानमा सिआईवीबाट खटिएका प्रहरी निरीक्षक रामकृष्ण पाठकका अनुसार सो रकम विभिन्न १२ वटा डिजिटल वालेटको प्रयोग गरी क्रिप्टो मार्फत भुक्तानी गरिएको हो ।

प्रहरी अनुसन्धानको क्रममा सुन तस्करहरूको गिरोहले चीनको तिब्बतसँग सिमाना जोडिएको दोलखाको लामावगरको फलाक नाकाबाट डोरीमा सुन बाँधेर खोला पार गरी तस्करी गरेका थिए ।

तिब्बतबाट अवैधरुपमा सुन नेपाल भित्र्याई काठमाडौँ लगेर बिक्री गरेपछि पुनः त्यहाँबाट डलरलाई सिलबन्दी गरी प्याक गरेर लामावगरको फलाकवाट डोरीमा बाँधेर खोला तारी चिनियाँ नागरिकलाई भुक्तानी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । २०७९ मङ्सिरदेखि गत कार्तिक ८ गतेसम्म एउटै समूहले ६ पटक गरी ३३ किलो सुन भित्र्याएको अनुसन्धानबाट खुलेको छ । 

प्रहरीले लामावगरको फलाक नाकाबाट भित्रिएको ३३ किलो सुन मध्ये ११ किलो सुन दोलखाबाट र अनुसन्धानको क्रममा ५ सय ३२ ग्राम सुनका गहना बरामद गरेको थियो । सो सुनको मूल्य १० करोड ६८ लाख ६८ हजार ७ सय ६१ रुपैयाँ बराबरको रहेको छ । प्रहरीले सुन तस्करीमा संलग्न व्यक्तिहरूबाट १८ लाख ३३ हजार ५ सय नगद बरामद गरेको थियो भने उनीहरूको नाममा विभिन्न बैङ्कमा रहेको ३१ लाख ७४ हजार ६ सय ६५ रुपैयाँ रोक्का राखेको छ ।
 
दोलखा प्रहरीले सुन तस्करीमा संलग्न मुख्य नाइके चिनियाँ नागरिक ग्याङ रु र आकर लामा सहित १५ जनालाई पक्राउ गरी अनुसन्धान गरेको थियो । ती मध्ये एक जना बालकलाई हाजिर जमानीमा रिहा गरेको थियो । 

बाँकी १४ जनालाई हिरासतमा राखी करिब दुई महिना अनुसन्धान गरिएको थियो । दोलखा प्रहरी र सिआईवीको टोलीले सुन तस्करी प्रकरणको अनुसन्धान पुरा गरी अनुसन्धान प्रतिवेदनसहित पक्राउ परेकाहरूलाई जिल्ला सरकारी वकिल कार्यालय दोलखामा बुझाएको छ ।

उनीहरू उपर भन्सार ऐन २०६४, सङ्गठित अपराध निवारण ऐन २०७०, नेपाल राष्ट्र बैङ्क  ऐन २०५८, बालबालिका सम्बन्धी ऐन २०७५ र मुलुकी अपराध संहिता २०७४ को दफा ४३ को एकीकृत कसुरमा मुद्दा चलाइने प्रहरीले जनाएको छ । 

सुन तस्करीमा संलग्न भई फरार रहेका अन्य १२ जनाको भने खोजी भइरहेको र उनीहरू पक्राउ परेपछि पूरक अभियोग लिएर जाने प्रहरीका अनुसन्धान अधिकारीहरूले बताएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ३ : ३५ बजे