पूरा हुँदै ओलीको सपना,नागढुङ्‍गा सुरुङ मार्ग अन्तिम चरणमा

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको नागढुङ्‍गा सुरूङ मार्ग अन्तिम चरणमा पुगेको छ । ओली नेतृत्व सरकारको योजनामा बनेको नागढुङ्‍गा सुरूङ मार्ग अब २००.६० मिटर मात्रै खन्न बाकीँ रहेको छ । 

नागढुङ्‍गा सुरूङ आयोजनाले मंगलबार सार्वजनिक गरेको विवरण अनुसार कुल २ हजार ६८८ मिटर लामो सुरुङ मार्ग बन्दैछ । जसमध्ये २ हजार ४८७ मिटर सुरुङ खन्ने काम पूरा भएको छ ।

आयोजनाका अनुसार यस आयोजनाको रेस्क्यू टनेलको भने ‘ब्रेक थ्रु’ भइसकेको छ । यहाँ २ हजार ५५७ मिटर लामो रेस्क्यू टनेल रहेको छ । जसको ७ अगष्ट २०२३ का दिन ‘ब्रेक थ्रु’ भएको हो । टनेलको कुल भौतिक प्रगति ९६.४० प्रतिशत पुगेको छ । अब ३.६० प्रतिशत मात्र भौतिक प्रगति बाँकी रहेको आयोजनाले जनाएको छ ।

टनेलसहित सबै संरचनाको भौतिक प्रगति भने ६५.३६ प्रतिशत पुगेको आयोजनाले जनाएको छ । यहाँ टनेलसँगै अन्डरपास, बक्स कल्भर्ट, ओभरपास, पुल र फ्लाइओभरको काम जारी छ ।

यो आयोजनाको अध्ययन सन् २०१४ मा भएको हो । सन् २०१६ मा स्रोत सुनिश्चित भएपछि सन् २०२७ मा डिजाइनको काम सुरु भएको थियो । जापानी ठेकेदार कम्पनी हाजमा–आन्दो जेभीले यस आयोजनामा काम गरिरहेको छ । 

सुरुङसम्म पहुँचमार्गका लागि गुर्जुधारा चोक र सुरुङको मुख नजिकै २ वटा फ्लाइओभर समेतसँगै बनिरहेका छन् । गुर्जुधाराको फ्लाइओभर ६१० मिटर लामो हुँदैछ । सुरुङमार्ग र पहुँचमार्गसमेत गरी कुल लागत भने २२ अर्ब भन्दा माथिको हो । नौबिसेदेखि थानकोटसम्मको घुमाउरो र भिरालो सडकका कारण हुने बाक्लो ट्राफिक जाम हटाउने उद्देश्यले सुरुङमार्ग निर्माण थालिएको हो ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ३ : ०९ बजे