दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

केपी ओली कप टी-२० राष्ट्रिय क्रिकेट : हरिशंकरको कप्तानीमा मधेश प्रदेशकाे टोली घोषणा

काठमाडौँ । प्रथम केपी ओली कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि मधेस प्रदेशले हरिशंकर साहको कप्तानीमा टोलीको घोषणा गरेको छ ।

मधेस प्रदेशले मङ्गलवार साहको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो । साह राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडी हुन् । राष्ट्रिय टोलीबाट खेलिसकेका पवन सर्राफ र अनिलकुमार साह पनि टोलीमा छन् ।

टोलीमा कप्तान साह, सर्राफ र अनिलसँगै  इमरान सेख, मयन यादव, राकेश कामत, विशाल सुस्लिङ, रोहन विक, विशाल पटेल, पर्तिभ यादव, रुपेश सिंह, संसाद अन्सारी, प्रदीप पासवान र हिमांशु दत्त छन् । 

प्रथम केपी ओली कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता मंसिर ७ गतेदेखि १५ गतेसम्म पोखरामा हुँदैछ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा हुन लागेकाे प्रतियाेगितामा ७ प्रदेश, ३ विभागीय टोली र आयोजकको २ टोली गरी कूल १२ टोलीले सहभागिता जनाउँदै छन् ।

१२ टाेलीलाई ४ समूहमा विभाजन गरिएकाे छ । समूह 'ए' मा वाग्मती प्रदेश, कर्णाली प्रदेश र मदन भण्डारी स्पोर्ट्स एकेडेमी रातो छन् । समूह 'बी' मा एपीएफ, गण्डकी र लुम्बिनी प्रदेश छन् । नेपाल पुलिस क्लब, मधेस र सुदूरपश्चिम प्रदेश समूह 'सी' मा छन् । त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश र मदन भण्डारी स्पोर्ट्स एकेडेमी निलो टिम समूह 'डी' मा छन् ।

हरेक समूहको समूह विजेता मात्र सेमिफाइनल पुग्नेछन् । सेमिफाइनलमा समूह 'ए' को विजेता र समूह 'डी' को विजेता तथा समूह 'बी' को विजेता र समूह 'सी' को विजेताबीच खेल हुनेछ । फाइनल खेल मंसिर १५ गते हुनेछ ।

​​​​​​​

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  २ : ५४ बजे