दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सेयर बजारमा झिनो अंकको सुधार

काठमाडौं । ११ दिनपछि खुलेको सेयर बजारमा झिनो अंकको सुधार आएको छ। सोमबार नेप्से परिसूचक १.३९ अंकले बढेर १८५३.४८ अंकमा कायम भएको हो।

नेप्से ०.०७ प्रतिशतले बढ्दा सेन्सिटिभ इन्डेक्समा भने ०.५ अंकको गिरावट आएर ३५६.५४ अंकमा कायम भएको छ। नेप्से बढेको दिन कारोबार रकम १ अर्ब नाघेको छ। तिहारअघिसम्म अर्ब रुपैयाँको पनि कारोबार नहुने गरेकामा चाडपर्व लगत्तै सेयर कारोबारमा सामान्य उत्साह छाएको हो।

सोमबार कारोबारमा आएका १ सय १९ कम्पनीको सेयर मूल्य बढ्दा १ सय १३ वटाको भने घटेका छन्। ६ कम्पनीको सेयर मूल्य भने यथावत रहे।

कारोबार सुरु भएदेखि नै उकालो लागेको बजार १५ मिनेटपछि निरन्तर घट्न थालेको थियो। आधाजस्तो अवधि राताम्य बनेर नेप्से अन्तिममा हरियो बनेको हो।

दिनभर ४४ हजार ७ सय २७ कारोबारमार्फत् २ सय ८४ स्क्रिप्टका ३३ लाख १९ हजार ५ सय ५८ इकाइ सेयर १ अर्ब ९ करोड ९३ लाख १८ हजार २९ रुपैयाँमा किनबेच भएका छन्। जसमध्ये सबैभन्दा बढी हिमालयन डिस्टिलरीको ७ करोड ३६ लाखको सेयर किनबेच भएको छ। सोल्टी होटल्सको पनि करिब ७ करोडको सेयर कारोबार हुँदा कारोबार रकमका आधारमा सोनापुर मिनिरल्स एन्ड आयल, हाथवे इन्भेस्टमेन्ट र शिवम् सिमेन्ट शीर्ष ५ मा रहे।

मूल्य बढ्नेमा ग्लोबल आईएमई लघुवित्त र कर्णाली विकास बैंक अगाडि रहे। दुई कम्पनीका सेयरधनीले करिब १० प्रतिशत कमाए। समाज लघुवित्त, साहस उर्जा र हाथवे पनि बढी मूल्य बढ्ने कम्पनीको सूचीमा शीर्ष ५ मा अटाए। यता फर्वार्ड माइक्रोफाइनान्स, सयपत्री हाइड्रो र माथिल्लो मैलुङ खोला जलविद्युत्को सेयर मूल्य १० प्रतिशतले घटेको छ। हिमालयन डिस्टिलरी र पिपुल्स हाइड्रोका सेयरधनी पनि बढी गुमाउनेको सूचीमा परे।

समूहगत उपसूचकतर्फ भने मिश्रित प्रदर्शन रह्यो। कारोबारमा आएका १३ मध्ये ९ समूहको उपसूचकमा सुधार आयो। जसमध्ये कारोबार समूहको उपसूचक सर्वाधिक १.४२ प्रतिशत र विकास बैंक समूहको १.२६ प्रतिशतले बढेका छन्। १.९१ प्रतिशतले घटेको उत्पादनमुलक समूहको उपसूचकसहित ४ वटामा भने गिरावट आए।

नेप्से बढेको दिन बजार पुँजीकरण २८ खर्ब ५५ अर्ब १६ करोड रुपैयाँ कायम भएको छ। लगानीकर्ताको कुल सम्पत्ति यसदिन २ अर्ब रुपैयाँले बढेको हो।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ३ : ४५ बजे