सुनको मूल्यमा नयाँ कीर्तिमान

गाडीको ठक्करबाट छठ बर्तालुको मृत्यु

मलङ्गवा । सर्लाहीको हरिवन नगरपालिका–९, नोचामा आज बिहान गाडीले ठक्कर दिँदा एक छठ बर्तालु महिलाको मृत्यु भएको छ ।  

पूर्व–पश्चिम राजमार्गअन्तर्गत हरिवनको नोचामा गाडीले ठक्कर दिँदा स्थानीय ५२ वर्षीया लक्ष्मी पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सविण कार्कीले जानकारी दिनुभयो । नोचास्थित छठ घाटमा छठ पूजा गरेर घर फर्किँदै गर्नुभएका पोखरेललाई मधेस प्रदेश–०३–००१ ज ०३४२ नम्बरको गाडीले ठक्कर दिएको हो ।

महिलालाई ठक्कर दिई चालक भाग्ने क्रममा सोही गाडीको ठक्करबाट सडक सुरक्षार्थ खटिनुभएका ट्राफिक प्रहरी हवलदार सुबोधकुमार यादव घाइते हुनुभएको  प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिनुभयो । बायाँ खुट्टा भाँचिएका हवलदार यादवलाई उपचारका लागि लालगढ अस्पताल लगिएको छ । 

सडक छेउमा रोकिराखेको बागमती प्रदेश–०२–०३८ प ०३११ नम्बरको मोटरसाइकललाई समेत सो ठक्कर दिएर क्षति पुर्‍याएको छ । चालकलाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ११ : १५ बजे