दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

मङ्सिर ७ गतेदेखि पोखरामा केपी ओली राष्ट्रिय कप टी–२० क्रिकेट प्रतियोगिता हुँदै

पोखरा । पोखरामा मङ्सिर ७ गतेदेखि केपी ओली राष्ट्रिय कप टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।

आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीका अनुसार प्रतियोगितामा १२ टिमको सहभागिता रहने छ ।

त्रिभुवन क्लब, एपिएफ क्लब र नेपाल पुलिस क्लबसहित कोसी, बागमती, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशले सहभागी जनाउने एकेडेमीको क्रिकेट विभाग संयोजक एवं पूर्व राष्ट्रिय खेलाडी शक्ति गौचनले जानकारी दिनुभयो । उहाँका अनुसार एकेडेमीले आफ्ना दुई टिम उतार्ने बताएको छ । 

खेल तालिका अनुसार ग्रुप ‘ए’ मा बागमती प्रदेश, कर्णाली प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी रातो, ग्रुप ‘बी’ मा एपिएफ, लुम्बिनी र गण्डकी, ग्रुप ‘सी’ मा नेपाल पुलिस, मधेस प्रदेश र सुदूरपश्चिम तथा ग्रुप ‘डि’ मा त्रिभुवन आर्मी क्लब, कोसी प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी निलो छन् । 

मङ्सिर १५ गतेसम्म चल्ने प्रतियोगितामा हरेक दिन दुई वटा खेल हुनेछन् । उद्घाटन खेलमा बागमती प्रदेश र आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी रातोका बिच प्रतिस्पर्धा हुनेछ । 

उपाधि विजेता टिमले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार पुरस्कार पाउनेछन् । हरेक खेलमा म्यान अफ दि म्याच र प्रतियोगिताको वेष्ट व्याटर तथा बलरलाई समेत पुरस्कार राखिएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ९ : ०५ बजे