कम्फर्टेबल सत्ता गठबन्धनबाट प्रधानमन्त्रीमा कार्यशील पुष्पकमल दाहाल उर्फ प्रचण्ड यति बेला टिकटकमाथि प्रतिबन्धको निर्णयका कारणले आलोचनाको केन्द्रमा छन्। यसलाई लोकतान्त्रिक गणतन्त्र विरोधीहरूले मुख्य मुद्दा बनाएर अभिव्यक्ति स्वतन्त्रतामाथि कुठाराघात भो भन्दै निरङ्कुश राजतन्त्र चाहियो भनेर आन्दोलनको घोषणा पनि गरेका छन्। तर हामीले बुझ्नुपर्छ, आजको आवश्यकता राजतन्त्र कि गणतन्त्र भन्ने होइन कस्तो शिक्षा र शिक्षालय, कस्तो नागरिक र सोच, कस्तो न्याय र न्यायालय, कस्तो भौतिक पूर्वाधार र सुविधा, कस्तो अर्थ नीति र व्यवस्था अनि किन परिपूर्ण लोकतन्त्र भन्ने हो।
टिकटकमाथि बन्देज लगाएर होइन, यसको व्यवस्थित र रचनात्मक प्रयोग गर्न राज्यको भूमिका बढाउनु पर्थ्यो। अहिले प्रचण्डले जुन तरिकाबाट प्रधानमन्त्री पदको दुरुपयोग गरिरहेका छन्, त्यसले परिस्थितिलाई अराजक बनाउन र अस्थिरता बढाउन मुख्य भूमिका खेलिरहेको छ। सामाजिक सञ्जाल नियमनका लागि कानुन बनाउनु पर्नेमा निर्देशिका ल्याए अनि नियमन गर्नुपर्नेमा टिकटक बन्द गर्ने निर्णय गरेर अनावश्यक रूपमा परिस्थितिलाई भड्काउन सघाए।
त्यतिबेला केपी ओली प्रधानमन्त्री भएका बखत कानुन बनाएर सामाजिक सञ्जाल नियमन गरौँ, विधिसम्मत तरिकाबाट यसको प्रयोग गर्न सघाउँ भन्दा अधिनायकवाद आउँछ भनियो। तर यति बेला निर्देशिकामार्फत शासन चलाउने दुस्साहस गरिदैछ। तैपनि आज वरिष्ठ पत्रकारदेखि राजनीतिक विश्लेषकहरू मौन छन् जबकि हिजो तिनीहरू नै लोकतन्त्रमा व्यक्तिगत स्वतन्त्रता हनन हुने भो भन्दै कुर्लिएका थिए।
“जनताको मनोविज्ञानलाई कसरी सकारात्मक बनाउने? हामी यस प्रश्नमा केन्द्रित हुनुपर्दछ किनभने नकारात्मक मनोविज्ञानले कहिल्यै सकारात्मक परिणाम दिँदैन।” त्यसैले हामीले बुझ्नुपर्छ, लोकतान्त्रिक गणतन्त्रको विकल्प परिपूर्ण लोकतान्त्रिक गणतन्त्र नै हो, राजतन्त्रात्मक प्रणाली होइन। कसैले चाहँदैमा २०५८ जेठ १९ गते राती दरबार हत्याकाण्डमा राजा वीरेन्द्रको वंशनाससँगै पशुपतिमा खरानी बनाएर बागमतीमा बगाएको राजतन्त्र फर्कदैन्। तर प्रचण्डहरू काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भन्ने पाराले टिकटक बन्द गराएर लोकतान्त्रिक गणतन्त्र विरोधीहरूको मनोबल बढाउने काम गरिरहेका छन्।
राजतन्त्रवादीहरूलाई लागेको हुनसक्छ, कम्फर्टेबल सत्ता गठबन्धनका कारणले जनतामा बढेको असन्तुष्टि र वितृष्णालाई राजतन्त्र फर्काउने आधार बनाउन सकिन्छ। तर तिनले बुझ्नुपर्थ्यो, जनताको प्रश्न व्यवस्थाको विरोधमा होइन व्यवस्थापन र व्यवस्थापकहरूको प्रवृत्तिका विरुद्धमा हो। जनताहरू भन्दै छन्, लोकतन्त्रले देशको अवस्था बदल्न सक्नुपर्छ। त्यसैले यति बेला हामी भ्रमहरूबाट मुक्त भएर लोकतान्त्रिक गणतन्त्रलाई परिपूर्ण बनाउने राजनीतिक विचार र पार्टीको पक्षमा उभिएर अघि बढ्ने हो, राजतन्त्र चाहियो भन्दै पछाडि फर्कने होइन।
लोकतान्त्रिक प्रणालीको सुन्दरता भनेकै आफ्नो राजनीतिक दृष्टिकोणअनुसार दलीय गतिविधि गर्न पाउनु र जनादेश मार्फत राज्य सञ्चालन गर्नु हो। लोकतन्त्रमा जनता सार्वभौम हुन्छन्। जुन राजतन्त्रात्मक प्रणालीमा हिजो सम्भव थिएन, हिजो राजा सार्वभौम हुन्थे र हामी जनता रैती हुन्थ्यौं अनि दलीय राजनीति प्रतिबन्धित थियो। यी सबै हामीले देखेका र भोगेका हौँ। त्यसैले “अबको प्रश्न गणतन्त्र कि राजतन्त्र भन्ने होइन, कसरी बन्छ समृद्ध नेपाल भन्ने हो।”
लोकतान्त्रिक गणतन्त्र बलियो बनाउन र समृद्ध नेपाल सुखी नेपाली बनाउने राष्ट्रिय आकाङ्क्षा पूरा गर्न नागरिक निर्यात गरेर वस्तु आयात गर्ने नीति, नेतृत्व र नियत कायम भएसम्म सम्भव हुँदैन। यसको मतलब नवउदारवादहरूको भूमिका निर्णायक भएसम्म नेपालमा नियन्त्रित अस्थिरता बढिरहन्छ अनि नेपाल कमजोर र परनिर्भर भइरहन्छ। त्यसैले समस्याको मूल कारण बुझौँ र त्यसको दिगो समाधान खोजौँ। तर राजनैतिक तथा संवैधानिक व्यवस्थामा परिवर्तनको मुद्दा उठाएर नियन्त्रित अस्थिरता बढाउन सहयोगी नबनौँ।
अहिले राज्य सत्ताको मुखिया बनेर बसेका प्रचण्ड र प्रचण्डलाई टेको लगाएर पार्टी बनाउन लागि परेका शेरबहादुर देउवाहरूले बुझ्नुपर्थ्यो, जनताका प्रश्न र अपेक्षाहरूलाई सम्बोधन गर्ने गरी काम गर्नुपर्छ न कि बाह्य शक्तिका लागि कम्फर्टेबल बनेर देशको आकाङ्क्षा एकातिर काम कुरो अर्कातिर गरेर विवाद सिर्जना गर्ने। तैपनि देशको आवश्यकताका विपरीत प्रचण्ड र देउवाहरू गतिविधि गर्न रमाइरहेका छन्।
आजको प्राथमिकता र आवश्यकता भनेको सबल र असल नागरिक सबल र असल बनाउने शिक्षा अनि देशलाई समृद्धिको बाटोमा हिँडाउने हो। यसका लागि शिक्षा व्यवस्था राम्रो, अर्थ नीति देशमुखी र अर्थतन्त्र बलियो बनाउनु पर्छ। नेपाली मूलका उद्योगी व्यवसायीहरूलाई प्रोत्साहित गर्नुपर्छ। तर यति बेला प्रचण्डहरू शिक्षा व्यवस्था बिगारेर नागरिकलाई कमजोर र भ्रमित बनाउँदै दलालहरूको पक्षमा नीति बनाएर देशको अर्थतन्त्र धराशायी बनाउने काम गरिरहेका छन्। जसका कारणले जनतामा असन्तुष्टि र वितृष्णा बढेको छ।
जनतामा बढेको असन्तुष्टि र वितृष्णालाई राजेन्द्र र रवीन्द्रहरू रविको साथ लिएर राजतन्त्र फर्काउँछौँ र ज्ञानेन्द्रलाई राजगद्दीमा बसाउँछौँ भन्दै छन्। त्यसैले रविहरू राजेन्द्र र रवीन्द्रहरूको राजनीतिक गतिविधिहरूका बारेमा केही बोल्दैनन्। किनभने उनीहरूले जनतामा रहेको असन्तुष्टि र वितृष्णालाई आफ्नो राजनीतिक आधार ठानेका छन् जबकि राजनीतिमा विचार प्रधान हुन्छ जसले दल र नेतृत्वलाई मार्गदर्शन गरिरहेको हुन्छ।
यति बेला जनताले बुझ्नुपर्छ, “परिपूर्ण लोकतन्त्रले मात्र हाम्रा अपेक्षाहरू पुरा र राष्ट्रिय आकाङ्क्षा ‘समृद्ध नेपाल सुखी नेपाली बनाउने’ आधार तयार गर्न सक्छ।” त्यसैले जनताले परिपूर्ण लोकतन्त्र र यो लोकतन्त्रको पक्षमा क्रियाशील शक्तिलाई बलियो बनाउने गरी आफ्ना धारणा बनाउन र मताधिकार प्रयोग गर्नुपर्छ। भ्रममा परेर भावनात्मक रूपमा भड्किएर निष्कर्षमा पुग्नु हुँदैन। लोकतान्त्रिक गणतन्त्र बलियो बनाउन सहयोगी बन्नुपर्छ।
यसर्थ जनताले परिवर्तन निरन्तर प्रक्रिया हो, यो प्रक्रियामा आफ्नो भूमिका महत्त्वपूर्ण भएको बुझ्नु आवश्यक छ। अनि बहुदलको विकल्प बहुदल, दलको विकल्प दल, लोकतन्त्रको विकल्प लोकतन्त्र र गणतन्त्रको विकल्प गणतन्त्र नै हो भनेर बुझ्नुपर्छ। प्रचण्ड र देउवाहरूको रिसमा रैती बन्ने मूर्खता गर्नु हुँदैन। बुद्धिजीवीहरूले पनि आफ्नो बौद्धिकता परिपूर्ण लोकतन्त्रको पक्षमा उपयोग गर्नुपर्छ। पाउलो फेरेले भनेका छन्, “यदि कुनै शिक्षित व्यक्तिले समाज रूपान्तरणमा सकारात्मक भूमिका खेल्न सक्दैन भने वास्तविक अर्थमा त्यो व्यक्ति शिक्षित हुनै सक्दैन।” अन्यथा पाउलो फेरेले भने झैँ बौद्धिकहरू आलोचनाको पात्र भइरहने छन्।
प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार ८ : ५५ बजे
प्रतिक्रिया