‘नेशनल डे कन्सर्ट’ सम्पन्न

बर्खास्तीमा परे च्याटजीपीटीका सीईओ

काठमाडौं । बहुचर्चित आर्टिफिसियल इन्टेलिजेन्स च्याटबट ‘च्याटजीपीटी’ बनाउने कम्पनी ओपनएआईका सहसंस्थापक एवं सीईओ साम अल्टम्यानलाई कम्पनीले बर्खास्त गरेको छ ।

कम्पनी बोर्डसमक्ष झुट बोलेको आरोपमा अल्टम्यानलाई सीईओ पदबाट बर्खास्त गरिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन् । ओपनएआईले पनि अल्टम्यानमाथि कम्पनीको नेतृत्व जारी राख्ने क्षमतामा बोर्डलाई विश्वास नरहेको हिजो स्पष्ट पारेको छ । अल्टम्यान बोर्डसँगको सञ्चारमा अस्पष्ट र अनुदार रहेको ओपनएआई बोर्डले निष्कर्ष निकालेको छ । ‘जसले गर्दा उनका जिम्मेवारीहरू प्रयोग गर्ने प्रक्रियामा बाधा पुर्‍यायो,’ कम्पनीको भनाइ छ ।

च्याटजीपीटीको सुरुवात पछि, अल्टम्यान विश्वका चर्चित प्राविधिक कार्यकारी एवं आर्टिफिसियल इन्टेलिजेन्स विशेषज्ञ बनेका थिए ।

‘ओपनएआईको स्थापना र उन्नतिमा सामले पुर्‍याएका धेरै योगदानहरूप्रति हामी कृतज्ञ छौँ,’ कम्पनीले अगाडि भनेको छ, ‘यद्यपि, हामीलाई विश्वास छ कि अझै अगाडि बढ्नको लागि हामीलाई नयाँ नेतृत्वको खाँचो छ ।’ 

साम अल्टम्यान बर्खास्त गरिए लगत्तै बोर्डले कम्पनीकी प्रमुख प्राविधिक अधिकृत माइरा मुरातीलाई अन्तरिम सीईओको जिम्मेवारी दिएको छ । उनले ओपनएआईलाई ‘ग्लोबल एआई लिडर’ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  १ : ४९ बजे