डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

कारागारभित्र कैदी मृत्यु प्रकरण : मृतककी भतिजीलाई पढाउने सहमति

सिन्धुली । सिन्धुली कारागारमा रहेका एक जना थुनुवाको मृत्यु घटनामा एक विद्यालयले मृतकका भतिजीलाई कक्षा १० सम्म पढाउने सहमति गरेको छ । 

श्री कमलामाई बोर्डिङ स्कुलले उनको पढाईको जिम्मा लिएको हो । 

दुधौली नगरपालिका-१० का ३० वर्षीय विमल थापाको कारागारभित्र बिहीबार बिहान करिब ३ बजे मृत्यु भएको थियो। 

मृतक विमल सवारी ज्यान मुद्दामा गत असोज १७ गतेदेखि पूर्वपक्षका लागि थुनामा थिए ।

उनको मृत्यु भएपछि मृतक परिवारले शंका व्यक्त गरेका थिए। जिल्ला प्रहरी कार्यालयका डिएसपी चिरञ्जीवी दाहालले यो घटना शंकास्पद नदेखिएको बताए। 

बुधबार राति कारागारमै तिहार मनाएर देउसी खेलिसकेपछि खाना खाएर सुतेका विमल बिहीबार बिहान साढे ३ बजे बेहोस अवस्थामा भेटिएको डीएसपी दाहालले बताए ।

कारागारभित्र उनको मृत्यु भएपछि मृतक परिवारले केहीबेर राजमार्ग पनि अवरूद्ध गरेका थिए। अवरूद्ध गरेर पछि छलफलका लागि उनीहरू जिल्ला प्रहरी कार्यालय सिन्धुली पुगेका थिए। 

मृतक थापा उक्त विद्यालयका बस चालक थिए। गत भदौमा दुधौली नगरपालिका(१३मा बसको ब्रेक फेल भई ठक्कर दिँदा अटोमा सवार सम्मरबहादुर लामाको मृत्यु भएको थियो। 

कर्मचारीको कारागारभित्र मृत्यु भएकाले भतिजीलाई पढाउने सहमती जनाएको विद्यालयका संस्थापक कृष्णराज ठकुरीले जानकारी दिए।

यस्तै मृतकको काजकिरिया गर्न लागि पनि खर्च उपलब्ध गराउने सहमति गरेको उनले बताए।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  १२ : ३१ बजे