दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विश्वकप छनोट खेल्न नेपाली राष्ट्रिय फुटबल टोली युएई प्रस्थान

काठमाडौं । सन् २०२६ मा आयोजना हुने विश्वकप फुटबलको एसियाली क्षेत्रको दोस्रो चरणको छनोट प्रतियोगितामा सहभागी हुन नेपाली राष्ट्रिय टाेली संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गरेको छ ।

नेपाली राष्ट्रिय फुटबल टाेली आइतबार दिउँसाे त्यसतर्फ प्रस्थान गरेकाे हाे  । विश्वकप छनोटको प्रारम्भिक चरणमा लाओसलाई हराएपछि नेपालले दोस्रो चरणको पहिलो खेल युएईसँग खेल्न लागेको हो । नेपालले कात्तिक ३० गते युएईसँग खेल्नेछ । 

याे खेल सन् २०२७ मा आयोजना हुने एसियन कपका लागि पनि दोस्रो चरणको छनोट खेल हो ।

युएई जाने टाेलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार नै बिदाइ गरेकाे थियाे । एन्फाले विश्वकप छनोटको दोस्रो चरण र एएफसी एसिया कप २०२७ को छनोटका लागि कात्तिक २४ गते २३ सदस्यीय नेपाली राष्ट्रिय फुटबल टोली घोषणा गरेकाे थियाे ।

टाेलीकाे गोलकिपरमा किरणकुमार लिम्बू (कप्तान), दीप कार्की र अभिषेक बराल छन् । डिफेन्डरमा सनिश श्रेष्ठ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट, छिरिङ लामा तथा मिडफिल्डरमा लाकेन लिम्बू, उत्सव राई, कीर्तीशरत्न छुन्जू, मनीष डाँगी र सेसेहाङ आङदेम्बे छन् । फरवार्डमा अञ्जन बिष्ट, आयुष घलान, जिलेस्पीजंग कार्की, हिसुब थपलिया, सञ्जीव बिष्ट छन् ।

राष्ट्रिय टोलीका अनुभवी डिफेन्डर अनन्त तामाङ भने यूएई भ्रमणमा सहभागी छैनन् । अभ्यासका क्रममा घुँडामा चोट लागेपछि उनले साे खेल गुमाएका हुन् । मिडफिल्डर निशान हमाल ठकुरी, डिफेन्डर योगेश गुरुङ र फरवार्ड राजेश परियारले पहिलोपटक राष्ट्रिय टोलीमा ठाउँ बनाएका छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  ५ : २७ बजे