साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

आगोमा खेलेर खरानी पार्ने खेल  

राजतन्त्र ब्युँताउन आगामी मङ्सीर ७ गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलनको प्रचारबाजी  तीव्र पारिएको देखिन्छ । यसै बीचमा मधेस प्रदेशका मुख्यमन्त्रीले प्रदेशको अधिकार प्राप्तिका लागि लडाइँ लड्ने उत्तेजित खुल्ला अभिव्यक्ति दिए  । यही परिस्थितिमा इटहरीमा आदिवासी जनजातिको संयुक्त सभामा कोसी प्रदेश नामकरण विरुद्ध आवश्यक परे हतियार बोक्ने उद्घोष गरियो । यसमा ब्राह्मणवादी खस सत्ता र सरकार नै कारक भएको भन्दै  राप्रपा पार्टी  र लिङदेनलाई समेत वाण बर्साएको सुनियो । यसरी उक्त सभामा चरम जातीय द्वन्द्वलाई आमन्त्रण गरियो । यसै गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विराटनगरमै आएर प्रदेशको नामकरण विरुद्ध सामाजिक र जातीय सद्भाव भाँड्ने खालको अभिव्यक्ति दिए ।  यसको साक्षी किनारामा माकुने लगायत थिए । वाग्मती प्रदेश सरकारका मुख्यमन्त्री शालिग्राम जमरकट्टेलसमेत  सल्टिसकेको प्रदेश नामकरण विषय उधिन्दै थिए । यसरी देशलाई खरानी पार्ने नियतका साथ सुनियोजित र सुविचारित तरिकाले षडयन्त्रको तानाबाना सुरु भएको देखिन्छ । यसरी   चौतर्फी रूपमा देशलाई अराजकताको  दलदलमा पार्ने कुनियत स्पष्ट हुन्छ । 

पर्साइँ थरी झापाली मनुवा आफ्नै पिरले  उत्तेजनामा र आवेशमा  छन् ।  आफ्नो व्यथालाई केन्द्रमा राखेर चर्को व्याज पीडित सामान्य जनतालाई उचाल्दै आफ्ना वरिपरि गोलबन्द गर्ने प्रयत्नमा छन् । उनीमाथि राज्य र सरकारबाट उचित न्याय नभएको ठिकै होला तर उनी जुन आवेश र उत्तेजनामा एमाले र ओली विरुद्ध लागेका छन् , त्यो भने प्रायोजित प्रपञ्च नै हो भन्ने देखिन्छ ।     

 

 वरिष्ठ विद्वान् प्रा.डा. शास्त्रदत्त पन्तले २०७२ सालमा नेपालको संविधान जारी नभएको भए नेपाल रसातलमा पुगिसक्थ्यो भन्नु भएको छ । एमाले अध्यक्ष ओलीको चट्टानी अडानमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला अडिग हुनुभयो । यसले गर्दा देश सम्भावित   सङ्गीन सङ्कटबाट बच्न सकेको हो । त्यसपछि पनि संविधान विरुद्ध विशेषतः तराई मधेसमा चरम जातीय विषाक्त दुर्भाव भुईँ तहमा व्यापक रूपमा फैलाइयो । यी विषयमा अत्यन्त अमानवीय नाकाबन्दी समेत  नेपालमाथि थोपरियो । यसमा केही कथित नेता र बुद्धिजीवीहरू पनि राम्ररी देश विरुद्ध प्रयोग भएकै हुन् । तर नाकाबन्दी विरुद्ध आम जनताको साथ र सहयोगमा तत्कालीन प्रधानमन्त्री र सरकारले चट्टानी अडान राख्यो । 

 

असल र  भलाद्मी  छिमेकीले तदनुकूलको  छिमेकीकै चाहना गर्छ । र यस्ता छिमेकीले अनावश्यक रूपमा आफ्नो छिमेकीको कहिल्यै  कुभलो चिताउँदैन । तर दुर्जन छिमेकीले भलाद्मी र सोझो छिमेकीलाई कत्ति पनि  सहँदैन । अनेक तरिकाले छिमेकीका घरका लालाबाला भड्काएर तिनलाई  भित्रभित्रै उचालेर र उकासेर घर फुटाउन लागिपर्छ । र छिमेकीको  उठीबाससम्म गराउँछ । त्यसैले मानव पुर्खाले प्रत्यक्ष अनुभवका आधारमा  भाइ फुटे गँवार लुटे जस्ता शिक्षाप्रद उखान बनाएका हुन् । 

 

नेपाल एकातिर भीर र अर्कातिर तीरजस्तो अक्करमा अवस्थित छ । सामरिक दृष्टिले अत्यन्त संवेदनशील भूभागको  अवस्थितिले गर्दा नेपाल शक्तिशाली  राष्ट्रहरूको  आँखामा परेको हो । केही समय अघि कान्छी छोरी प्रशंसा  र ज्वाइँ विमलका निमन्त्रणामा अस्ट्रेलिया घुम्दा नेपाल अविकसित हुने एउटा कारण थाहा भयो ।  अस्ट्रेलियाको दक्षिणमा भारत र उत्तरमा चीन छैन, त्यसैले त्यहाँ नेपालमा जस्तो  शक्ति राष्ट्रको  आपसी खिँचातानी छैन । तर नेपालमा दुवै विद्यमान छ ।  

प्रतिकूलतालाई अनुकूलतामा बदल्न सक्ने दूरदर्शी नेतृत्व हुने हो भने नेपाल स्वर्ग बन्न सक्छ । पृथ्वी नारायण शाहजस्तै उत्तर र दक्षिणका दुवै छिमेकीसित संवाद गर्दा दुवैसित टाउको मात्र हल्लाउने तर देशभक्तिको आफ्नो चट्टानी अडान र अठोट  कायम राख्न सक्नुपर्छ ।  त्यस्तै कमरेड ओलीलाई पनि भारतीय विद्वान् एसडी मुनिले नेपाल राष्ट्र र जनताका हितका जब्बर पक्षधर नेता ठानेका रहेछन् । उनले एक समयमा भारतीय उच्च स्तरका नेतालाई ओलीको भर नपर्नू सामान्य रूपमा हेर्दा उनी भारतका मित्र जस्तै लाग्छन् तर ऐन मौकामा ओली नजानिँदो तरिकाले भारतकै  विरुद्ध ठिङ्ङ उभिन्छन् भनेका छन् । जननायक बिपी कोइरालाले प्रधानमन्त्री भएर भारत भ्रमणमा जाँदा यस्तै खालको कूटनीति अपनाएको चीनका लागि नेपाली पूर्व राजदूत राजेश्वर आचार्यले सामुदायिक प्रकृति संरक्षण अभियानले इटहरीमा आयोजित कार्यक्रममा बताए । आचार्यले भारत भ्रमणका केही दिन अघि डा. केशरजङ रायमाझीलाई भेटेर बिपीले  मेरा विरुद्ध नेपालमा जुलुस र नाराबाजी गरिदिए नेपालका हितमा समझदारी गर्न सघाउ पुग्थ्यो  भन्नु भएको थियो रे । रायमाझीले आफूसित जुलुस गर्ने  कार्यकर्ताको अभाव भएको बताएपछि बिपीले आफ्ना तल्ला तहका कार्यकर्ता पठाएर जुलुस गरिएको थियो । आचार्यका अनुसार  बिपीले भारतको औपचारिक भ्रमणका बेला नेपालका अहितमा काम गर्ने बित्तिकै कम्युनिस्टहरुले सताउँछन् भनेर परिस्थिति अनुकूल बनाउनु भएको थियो । 

 

अनि जहाँ र जहिल्यै पनि असन्तुष्टि मात्र छर्न मिल्दैन । अनि नेताका अगाडि लुरुक्क पर्ने र  चिया र पिया पसलमा तिनै नेता र पार्टीको भण्डफोर गर्ने चरित्र र चिन्तन सही होइन  । सत्य कुरा भन्न किन केको कन्जुस्याइँ ?

 

 राजा र लोकतान्त्रिक राजनीतिक शक्तिका बीचको  सामान्य अनमेललाई  उग्र असन्तोषका रूपमा परिणत गरेर र गराएर देशीय अन्तद्वन्द्व निम्त्याएको  सबैलाई जगजाहेर भएकै छ ।  आफैँ धामी आफैँ झाँक्री भएर पटक पटक दक्षिण  छिमेकी देशले असन्तोषका आगामा खेलेर एकएक गरेर नेपालका प्रमुख पार्टी र नेतालाई दुवैलाई पछार्छ र सिध्याउँछ र सिध्याउन  खोज्छ । बिपी कोइरालालाई  भारतीय समाजवादी नेता जयप्रकाश नारायण बाहेकले धेरै तरिकाले फकाउन र फसाउन खोजेका थिए । तिनले नेपाल नजानू भनेर सल्लाह दिएका थिए । इन्दिरा गान्धी समेतले   उनीहरू मार्फत हामीले भनेको मान्ने हो भने हामी तपाईँलाई नेपालको प्रधानमन्त्री बनाउँछौँ पनि भन्थे । यति मात्र होइन ०३६ सालको जनमत संग्रहपूर्व बीपीलाई तपाईँ आँट गर्नु हुन्छ भने तपाईँलाई नेपालको पहिलो राष्ट्रपति बनाइदिन्छौँ र राजतन्त्रको समूल नष्ट गरिदिन्छौँ भनेका थिए  तर कोइराला तिनको प्यादा हुन चाहनु भइएन । 

 

०४६ सालको आन्दोलनका बेला माधव कुमार नेपाल भारतीय सैन्य शक्ति नेपालमा प्रवेश गराउन मरिहत्ते. गरेकै हुन् । माकुने आफ्ना मिसनमा सफल भएका भए उतिबेला नै नेपाल देश नै रहने थिएन । जननेता मदन भण्डारीले माकुनेको सातो उडाउँदै चिनियाँ लाल सेनालाई पनि हामी नेपालमा प्रवेश  गराउँदैनौ भन्नु भएको थियो । यावत घटना क्रमलाई नियाल्ने हो भने हाम्रो र हामी भित्रको विवादमाथि खेलेर हामीलाई समाप्त पार्ने खेल बारबार भएको थियो र अहिले त्यही क्रम सुरु हुन लागेको छ ।  हामीले हामी भित्रका समस्याहरू  आर्फैँले सल्टाउनुपर्छ, आपसी तिक्तताहरू हामी आफैँले समाधान गर्न सक्नुपर्छ । मदन भण्डारी र ओलीजस्ता राजनेताले राजा महाराजालाई पनि घैँटामा घाम लाग्ने गरी सम्झाउन सक्थे र  सक्छन् जस्तो लाग्छ । त्यसैले यस्ता विषम परिस्थिति आउन लागेको अवस्थामा नेता र नेतृत्वमा बढी सुझबुझ आवश्यक पर्छ । किनभने प्रतिक्रियावादी शक्तिलाई न राजा राजतन्त्र,न गणतन्त्र न संघीयता, न नेपाली कांग्रेस र न एमाले केही नै चाहिएको छैन । तिनको एउटै मक्सद नेपाललाई पाताल धसाउनुसित मतलब रहेको छ । त्यसैले राजतन्त्र ब्युँताउन र व्युतिन खोज्नेले  अहिले नै मक्ख नपरे हुन्छ । यिनको मूलभूत उद्देश्य धमिलो पानीमा माछा मार्ने बाहेक अरू केही नै छैन । तर यति सामान्य कुरा पनि नबुझ्ने प्रा.डा . युवराज संग्रौला जस्ता कानुन्ची पण्डितहरू  परमादेश वा टिके प्रधान बनाउन मरिहत्ते गरेर लाग्दा यो हबिगत भोग्नु परिरहेको छ ।   यस्ता कथित बुद्धिजीवीको राष्ट्रप्रेम प्रति यस लेखकको गम्भीर आशङ्का छ । ओलीले बाध्यताबस  सदन विघटन गरेको विषयलाई गैर संवैधानिक  भनेर बालका खाल उखेल्न खोजेझैँ गर्ने युवराजहरू देश र  जनताका पक्षमा छैनन् भन्ने मेरो निष्कर्ष हो । अहिले सब चोर भन्ने जुन भाष्य निर्माण गर्न खोजिएको छ, त्यो सब कथित खानुन्ची र कानुन्चीहरुकै करामत हो । सुशील कोइराला र ओली नेतृत्वको सरकार  पनि थियो नि ।

अहिले जस्तो नाकाम र नालायक स्थिति त्यति बेला थिएन त ।   अझ ओली नेतृत्वको  सरकारका पालाका सब कामहरू र त्यसका सबै सूचकां हेर्दा सत्यतथ्य उजागर हुन्छ । एकपैसा पनि पैसा नै हो तर त्यही एक पैसालाई बेवास्ता गर्ने हो भने सय पैसा, हजार, लाख र करोड हुँदैन ।  एउटा मानिसको जीवनमा दस वर्ष निक्कै महत्त्वपूर्ण समयावधि हुन्छ तर देशका लागि दस वर्ष दस दिन बराबर हुन्छ । अनि जहाँ र जहिल्यै पनि असन्तुष्टि मात्र छर्न मिल्दैन । अनि नेताका अगाडि लुरुक्क पर्ने र  चिया र पिया पसलमा तिनै नेता र पार्टीको भण्डफोर गर्ने चरित्र र चिन्तन सही होइन  । सत्य कुरा भन्न किन केको कन्जुस्याइँ ? यसरी त सुध्रिँदैनन् नेता र  देश ? यसैले हामीले धर्ना अभियान पार्टी भित्रै सुरु गरेका हौँ । जसले देश र जनता नै पहिलो प्राथमिकतामा राख्छ, त्यो जोसुकै नेता र तिनका कमजोरी उपर बोल्छ । बोल्दा पनि पोल्ने गरी बोल्नु पर्छ । मलाई के खाँचो म नेता हुने होइन म कुलपति, उपकुलपति पनि हुने होइन अनि म किन बोल्नु र लेख्नु भन्ने पनि बुद्धिजीवी,प्राध्यापक र डाक्टर हुन्छ ? केही नै नचाहिए पनि देश त चाहिन्छ होला नि ? गर्नु नै के छ र गलतलाई गलत भनिदिनु त  हो । तर अहिले देश खतरामा रहेको देखिन्छ । व्यक्तिगत सामूहिक जाती र भूगोल ,नाक नश्लगत अनेक असन्तुष्टिमाथि खेलेर नेपालको स्वतन्त्र स्वाधीन र अखण्ड अस्तित्व धरापमा  पार्ने खालको कुरामा बेलैमा सचेत  बनौँ । बिग्रेपछि सपार्न निक्कै गाह्रो हुन्छ । देश भित्रका जनघातीलाई आफैँ ठीक पार्न सक्छौँ । 

नेपालको आन्तरिक राजनीतिमा खेल्ने र तहसनहस पार्ने खेल उहिल्यै देखिको हो ।  नेपाल एकीकरणका मूल अभियन्ता पृथ्वी नाराण शाहलाई घेराबन्दीमा पारेर समाप्त पार्न खोजिएको थियो । मल्ल राजाहरू यस कममा  परिचालित थिए । तर ती सब षडयन्त्र दूरदर्शिताका कारण असफल पारिए जस्तै अहिलेको समस्या सल्टाइएन भने हाम्रो अस्तित्व सुरक्षित रहँदैन । यति 

 

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  ५ : ०० बजे