सुनको मूल्यमा नयाँ कीर्तिमान

काठमाडौँमा २४ सै घण्टा देउसी भैलाे खेल्न पाइने

काठमाडौँ । नेपाल प्रहरीले आफ्नो संस्कृति अनुसार खेल्ने देउसी भैलोको लागि कुनै सीमित समय नतोकिएको जनाएको छ ।

काठमाडौँ प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्रबहादुर खत्रीले २४ घण्टा सौहार्दपूर्ण वातावरणमा देउसी भैलो खेल्न आग्रह गरे । उनले देउसी भैलो खेल्ने क्रममा कसैले समय तोकी अवरोध गरे प्रहरीलाई खबर गर्न  आग्रह गरे ।

दसैँमा बनाएको सुरक्षा योजनालाई निरन्तरता दिने र जहाँ सुरक्षा जोखिम,चोरी लुटपाट जस्ता घटनाहरू हुन्छन् त्यस्ता ठाउँहरूलाई मध्यनजर गरेर विशेष सुरक्षा प्रबन्ध मिलाएको उनले बताए । 

उनले लक्ष्मी पूजाका दिन बहुमूल्य गरगहना प्रदर्शन नगर्नसमेत अनुरोध गरे । उनले सुरक्षा प्रबन्ध गर्ने प्रहरीको मात्रै जिम्मेवारी नभएर आम नागरिकको पनि भएको भन्दै प्रहरी २४ घण्टा नागरिकको सुरक्षाको लागि खटिरहेको बताए । 

'राति १ बजेसम्म देउसी भैलो खेल्न सुरक्षा प्रबन्ध महानगरपालिकाले गरेको भने पनि कानुनको शासन हुने देशमा कानुन कार्यान्वयन गर्ने निकाय नेपाल प्रहरी हो । चाडपर्व तथा अन्य विषयमा सुरक्षा प्रबन्ध गर्ने जिम्मा नेपाल प्रहरीले पाएको हुन्छ । सुरक्षाको लागि प्रहरीले के गर्दा नागरिक सुरक्षा प्रदान गर्न सकिन्छ भनेर प्रयास गर्छौँ । विशेष सुरक्षा योजना बनाएर रातिसम्म देउसी भैलो खेल्दा भिडभाड हुने र झगडा हुनसक्ने क्षेत्रमा प्रहरी सुरक्षा बढी नै परिचालन गरिनेछ' उनले भने ।

'भिडभाड र आर्थिक गतिविधि हुनु क्षेत्रमा ड्रोनको प्रयोग गरेर कुनै घटना वा दुर्घटना नहुने गरी सुरक्षा व्यवस्था मिलाएका छौँ । आम नागरिकको सुरक्षा दिनु राज्यको जिम्मेवारी हो । नेपाल प्रहरी यसको लागि सक्षम छ । कसैले कुनै समय तोकेर अवरोध गर्न खोज्नुभयो भने नेपाल प्रहरीको १०० र काठमाडौँ प्रहरी प्रमुखलाई नै फोन गरेर जानकारी दिन सक्नुहुनेछ’,उनले थपे । 

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले १ बजेसम्म देउसी भैलो खेल्न सुरक्षा व्यवस्था गरिएको भन्ने भनाइप्रति लक्षित गर्दै काठमाडौँ प्रहरी प्रमुख खत्रीले राति १ बजेसम्म देउसी भैलो खेल्न सुरक्षा प्रबन्ध महानगरपालिकाले गरेको भने पनि कानुनको शासन हुने देशमा कानुन कार्यान्वयन गर्ने निकाय नेपाल प्रहरी भएको बताए । उनले नागरिकहरूले कुनै उश्रृंखल क्रियाकलाप नगरी सौहार्दपूर्ण रूपमा खेल्न आवश्यक रहेको बताए 

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  २ : ०६ बजे