तिहारमा जुवातास नखेल्न प्रहरीको अनुरोध

काठमाडौं । नेपाल प्रहरीले तिहारमा आतसबाजी र जुवातास नखेल्न अनुरोध गरेकाे छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयले पटका, भूइँचम्पा, आतसबाजीजस्ता कार्यहरु कानूनद्वारा बर्जित गरिएकाले त्यस्ता कार्यहरु नगर्न अनुरोध गरेको हो ।

तिहार, नेपाल सम्वत, छठ पर्वका अवसरमा सुरक्षाका लागि आकस्मिक रुपमा चेक प्वाइन्ट खडा गर्ने र भिडभाड हुने स्थानमा ड्रोन मार्फत निगरानी गरिने कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

लङ्गुरबुर्जा, जुवा र तासलगायत हारजित हुने खेल खेल्ने वा खेलाउने कार्य नगर्न र नगराउन समेत अपिल गरिएको उनले बताए ।

नगद, बहुमूल्य सामान, गरगहना र महँगा मोबाइल फोनसहित भीडभाडमा सकेसम्म नजान समेत कार्यालयले अपिल गरेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ४ : ०१ बजे