नक्कली भुटानी शरणार्थी प्रकरणको पेसी सर्‍यो

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको उच्च अदालत पाटनमा दायर रिटको पेसी फेरि सरेको छ । कानुन व्यवसायीको संख्या अत्यधिक भएको र तिहार बिदाले सुनुवाइ निरन्तर गर्न नमिल्ने भन्दै अदालतले मंसिर ५ गतेलाई पेसी तोक्न आदेश दिएको हो ।

उच्च अदालत पाटनका न्यायाधीश मुरारीबाबु श्रेष्ठ र कृष्णराम कोइरालाको संयुक्त इजलासमा २२ निवेदकको आज (बिहीबार) सुनुवाइ हुने भनिए पनि स्थगित गरिएको हो । शरणार्थी प्रकरणका आरोपी पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डेलगायतले काठमाडौं जिल्ला अदालतको आदेश बदरको माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।

गत असार १ गते काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि अभियुक्तहरुलाई थुनामा राख्न आदेश दिएको थियो । जिल्ला अदालतको आदेश बदरको माग गर्दै अभियुक्तहरुले उच्च अदालतमा साउन १२ गते निवेदन दर्ता गराएका थिए । त्यसयता पटक-पटक निवेदन पेसीमा चढे पनि कहिले आरोपीका कानुन व्यवसायीको आग्रहमा त कहिले जिल्ला अदालतबाट प्रतिवेदन नआएको भन्दै स्थगित हुँदै आएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  ४ : १२ बजे