सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

असई, हवल्दार र जवान मिलेर डकैती : घटनाका सबैजना जेल चलान

काठमाडौं । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई), सहायक हवल्दार र जवान समेतको मिलेमतोमा  भएकाे डाँकाचोरी घटनामा संलग्न पाँचै जना जेल चलान भएका छन्।

डाँकाचोरी घटनामा पक्राउ परेका प्रहरी वृत्त महाराञगञ्जमा कार्यरत असई ४३ वर्षीय सुनबहादुर तामाङ, ३३ वर्षीय सहायक हवल्दार खगराज अधिकारी, २२ वर्षीय जवान भुवन बरालसहित सुनसरीको तरहरा घर भइ काठमाडौं बस्दै आएका २८ वर्षीय मदन पुरी र सोही ठाउँका २५ वर्षीय सन्तोष पुरी जेल चलान भएका हुन्। 

उनीहरुलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश कपिलमणि गौतमको इजलासले बुधबार पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो। 

अहिले कारागार चलान भएका ५ जनाविरुद्ध कुमार रोकाले प्रहरीमा जाहेरी दिएका थिए। जाहेरीकर्ता रोका असोज २१ गते राति ठमेलबाट बालुवाटार जान लागेका थिए। सोही बेला ३ जना महिलाले लिफ्ट मागेकाले आफूले उनीहरुलाई लिफ्ट दिएको रोकाको जाहेरीमा उल्लेख छ।

यसरी भएको थियो लुटपाट
असोज २१ गते बिहान १० बजेदेखि असोज २२ गते बिहान १० बजेसम्म शिक्षण अस्पताल, शीतलनिवास, पानीपोखरी र सांग्रिला होटलसम्मको एरिया रेखदेखका लागि असई सुनबहादुर तामाङको कमान्डमा टोली खटिएको थियो। उनीहरु सबै महाराजगञ्ज वृत्तमा कार्यरत हुन्। 

राति साढे १० बजे काठमाडौं महानगरपालिका ३ महाराजगञ्जस्थित शिक्षण अस्पतालअगाडि बा १ झ ६२३८ नम्बरको सीआरभी गाडी रोकेर प्रहरी सहायक निरीक्षक सुनबहादुर तामाङ र प्रहरी जवान भुवन बराल खुला रहेको पसल बन्द गर्न भन्दै गए। गाडी चालक सहायक हवल्दार खगराज अधिकारी गाडीमै बसे। 

उनले चाबहिल बस्ने मदन पुरी र कपन बस्ने सन्तोष पुरीलाई बोलाए। मदन र सन्तोष काका–बडाबाउका छोरा (दाजु भाइ) हुन्। मदनले सन्तोषलाई जरुरी काम पर्‍यो भन्दै बोलाएका थिए। वसन्तपुरमा रहेका सन्तोष पठाओ मोटरसाइकलमा चढेर महाराजगन्ज पुगे।   

त्यसपछि खगराजको मोबाइलबाट फोन गरेर नवराज नगरकोटीलाई तीन जना युवती लिएर आउन भने। नगरकोटी पहिलेदेखि नै उनीहरुसँग सम्पर्कमा रहेका व्यक्ति थिए। 

महाराजगञ्जस्थित ओमान रेस्टुरेन्टमा ३ जना युवती ल्याउन उनीहरुले भनेका थिए। नवराजले कुमार रोकाको बा ५ च ५०३९ नम्बरको गाडीमा ३ जना युवती पठाइदिए। 

जाहेरवाला कुमार रोकाले भने आफूले युवतीहरुलाई लिफ्ट दिएर लगिदिएको बताएका छन्। तर अभियुक्तहरुले भने उनलाई पहिल्यै फोन गरेर ३ जना युवती ल्याउन भनेको बयान दिएका छन्। नवराजले भनेपछि उनले कुमारको गाडीमा तीन जना युवती पठाइदिएका थिए। 

पानीपोखरीस्थित सडकमा उनीहरुको भेट भयो। जाहेरवाला रोकाले भने आफूलाई रोकेर गाडीमा केटीहरु लिएर कहाँ बिक्री गर्न लगेको भनी धम्क्याएको, कुटपिट गरेको समेत उल्लेख गरेका छन्। 

कुमारले चलाएको गाडीसहित प्रहरी जवान भुवन बरालले उनीहरुलाई शिक्षण अस्पतालतिर लगे। त्यो गाडीमा रहेका तीन जना युवतीलाई प्रहरीको गाडीमा चढाए। त्यसपछि निर्मल निवासको गल्लीमा लगेको र डेढ लाख रुपैयाँ मागेको पीडितको भनाइ छ। 

त्यहाँ पुगेपछि उनीहरुले रकम माग गरेर धम्क्याएपछि कुमार रोकाले सन्तोष पुरीको ई–सेवा खातामा ३० हजार रुपैयाँ जम्मा गरिदिएका थिए। त्यसपछि उनीहरुले नवराज नगरकोटी, कुमार रोका र तीन जना युवतीलाई छाडिदिएका थिए। 

तर प्रहरी समक्ष बयान गर्दा असई तामाङले भने युवतीहरु गाडीमा चढेको र लुटपाट भएको आफूलाई जानकारी नै नभएको बताएका छन्। अन्य प्रहरीकै बयानमा भने उनको पनि संलग्नता रहेको खुलेको प्रहरीले जनाएको छ। 

आफू लुटिएपछि तत्कालै रोकाले प्रहरी कन्ट्रोल १०० मा फोन गरी घटनाबारे जानकारी गराएका थिए। असोज २३ गते जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरुलाई पक्राउ गरी अनुसन्धान गरेको थियो। 

अनुसन्धानका क्रममा समेत डाँकाचोरी गरेको देखिएपछि उनीहरुलाई मुद्दा चलाइएको थियो । अन्ततः उनीहरु कारागार चलान भएका हुन्।

अनुसन्धानको क्रममा कुमार नगरकोटीले केटीहरुसँग सम्पर्क गरी ग्राहकसम्म पुर्‍याउने काम गर्ने गरेका थिए। यस्तै, पुरी द्वयले पनि नगरकोटीलाई केटी ल्याउन भनेर काम लगाएको, लुटपाटको योजना बनाएर प्रहरीको सहयोगमा लुटपाट गरेको खुलेको थियो । 

पुरीकै योजनामा नगरकोटी र रोकाले कारमा केटी राखेर ल्याएपछि कहाँ बेच्न हिँडेको भन्दै प्रहरी भ्यानमा राखेर डरधम्की दिँदै लुटपाट गरिएको प्रहरी अनुसन्धानबाट खुलेको थियो।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  ४ : ०५ बजे