मनसुन क्रमशः क्षीण हुँदै

राहत लिएर जाजरकोट पुगे एमाले नेता घिमिरे

जाजरकोट । नेकपा एमालेका नेता एवम् प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरे भूकम्प पीडितहरूको लागि राहत लिएर जाजरकोट पुग्नुभएको छ । कार्तिक १७ गते राति जाजरकोटको बारेकोट गाउँपालिका वडा नं. १ रामिडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पीडितहरूको लागि राहत सामग्री लिएर सांसद घिमिरे भूकम्प प्रभावित क्षेत्र पुग्नुभएको हो ।

सांसद घिमिरेसँगै गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेल पनि त्यसतर्फ जानुभएको छ । 

उहाँहरूले भूकम्प पीडितको लागि राहतको लागि चामल, चिउरा, खाने तेल, चाउचाउ, सोयाबिन, दालमोटलगायतका विभिन्न खाद्य सामग्री प्रदान गर्नुभएको छ । एकद्वार प्रणालीमार्फत राहत प्रदान गर्ने नीतिअनुसार जाजरकोट जिल्ला प्रशासन कार्यालयमा राहत सामग्री हस्तान्तरण गरिएको सांसद घिमिरेले जानकारी दिनुभयो ।

सांसद घिमिरेले आफ्नो तर्फबाट र गाउँपालिका अध्यक्ष पौडेलले पालिकाको तर्फबाट भूकम्प पीडितलाई राहत प्रदान गर्नुभएको हो । गाउँपालिका अध्यक्ष पौडेलले रुकुम पश्चिमका भूकम्प पीडितलाई समेत राहत प्रदान गरिने जानकारी दिनुभयो । पीडितलाई तत्काल खाद्य सहितका राहत सामग्री आवश्यक पर्ने भएकोले भूकम्प गएकै भोलिपल्ट भूकम्प प्रभावित क्षेत्र प्रस्थान गरेर राहत उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

उहाँहरूले भूकम्पबाट घाइते भएकाहरूको स्वास्थ्य अवस्थाको बारेमा जानकारी समेत लिनुभएको छ । जाजरकोट जिल्ला अस्पतालमा उपचाररत घाइतेहरूलाई भेटेर उहाँहरूले स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभएको हो ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ११ : ५१ बजे