राष्ट्रपति पौडेल फ्रान्स,जर्मनी र इटाली भ्रमणमा जाने

काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेल फ्रान्स, जर्मनी र इटाली भ्रमणमा जाने भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति पौडेलको फ्रान्स, जर्मनी र इटाली भ्रमण स्वीकृत गरेको हो । सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रपति पौडेल फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन जान लागेका हुन् ।

फ्रान्सपछि राष्ट्रपति पौडेल जर्मनी र इटालीको भ्रमणमा जानेछन् । राष्ट्रपति पौडेल २२ कात्तिकमा फ्रान्सतर्फ प्रस्थान गर्नेछन् । राष्ट्रपति पौडेल फ्रान्स, जर्मनी र इटाली भ्रमण सकेर १ मंसिरमा स्वदेश फर्किने प्रवक्ता शर्माले बताइन् ।

यस्तै, सरकारले २५–२९ मंसिरसम्म अमेरिकाको एटलान्टामा आयोजना हुने १०औँ सेसन अफ कन्फ्रेन्स अफ द स्टेट पार्टीज टु द युनाइटेड नेसन कन्भेन्सन एगिनिस्ट क्रप्सन कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिएको छ ।

त्यस्तै, चीनको सांघाईमा सञ्चालन हुने छैटौँ चीन अन्तर्राष्ट्रिय आयात मेलामा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई स्वीकृति दिने, कृषि पशुपन्छी विकास मन्त्रालयअन्तर्गत तथा सञ्चालित परियोजना र आयोजनाका लागि २६१ राजपत्रांकित पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने, कृषि क्षेत्रमा प्रविधि विकास तथा हस्तान्तरण, व्यवसायिकरणलगायतका विषयमा नेपाल सरकार र गणतन्त्र कोरियाबीच हुने समझदारीपत्र (एमओयु) स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ४ : ५२ बजे