चाडपर्वबारे  मार्क्सवादी दृष्टिकोण

मार्क्सवादले जनतालाई सर्वोपरि महत्त्व दिएको छ । जनता नै देश हो र जनता नै इतिहासका निर्माता हुन् पनि भनेको पाइन्छ । त्यति मात्र होइन, चाडपर्व लगायत परम्पराका निर्माता पनि जनता नै हुन् । यो धर्ती र जीवन ईश्वरको रचना हो भन्ने कुरालाई विज्ञानले गलत सिद्ध गरिदियो । यस कुरालाई मार्क्सवादले अझ प्रस्ट पारिदिएको छ ।   मानव जातिले मनाउन सुरु गरेका सबै चाडपर्व जनताले परिकल्पना गरेका,सुरु गरेका र लामो अभ्यास पछि नामकरण गरी स्थापित भएका हुन् भन्ने स्पष्ट हुन्छ । त्यसैले   जबजले पनि चाडपर्वमा रहेका सबै सकारलाई स्वीकार गरेको पाइन्छ ।

दसैँ तिहार,छठ,  ल्होसार,उँधौली उँभौली आदि पर्वहरू खेती किसानी र पशु पालन लगायत श्रमकर्म पछि सुरु गरिएका  हुन् । यस्ता कठोर श्रम  कर्मबाट    शारीरिक र मानसिक रुपमा हैरान लखतरान भएपछि दुवै खालका  पुनर्ताजगी प्राप्त गर्न चाडहरू सुरु भएको पाइन्छ । जमरा, कागपूजा, कुकुर पूजा,गाई पूजा मह वा  शरीर पूजाबाट उपरोक्त कुरा प्रमाणित हुन्छ ।त्यसैले हामी उक्त विषयमा अनेक खालका भ्रमबाट मुक्त हुनुपर्छ । यस्ता विषयमा हामीमा  वस्तुवादी र मार्क्सवादी दृष्टिकोणमा स्पष्ट हुनुपर्छ । नत्र हामी अन्धविश्वासी र रुढीवादी भड्काउमा पर्छौ ।

नेपालीका हरेक चाडपर्वको इतिहासको  मानव श्रम सङ्घर्षसित नजिकको नातो देखिन्छ । आदि मानिसले पहिले प्रकृतिसित सङ्घर्ष ग¥यो । खाना नाना र छानाका लागि आदि मानवले प्रकृतिसित सङ्घर्ष गरेको छ । सिकार कन्दमूल प्राप्तिका लागि आदि मानव श्रम सङ्घर्षमा लाग्यो । हुँदै गर्दा मानवले प्रकृतिको दोहन पनि ग¥यो । कृषि पशुपालन लगायत अनेक श्रम कर्म गरी उत्पादन र उपार्जनमा माटो भएर लाग्यो ।

आदि मानवले आफ्नो जीवन र आफ्ना पेसा व्यवसाय खेती पाती र पशुपालन जस्ता काममा भरपुर सहयोग गर्ने जल,जमिन र जङ्गल,पशु र प्राणीआदिलाई पूजा गर्न थाल्यो । यो मानिस गुणी प्रवृत्ति हो । जल,जमिन, जङ्गल, सूर्य र चन्द आदिलाई भगवान् मानेर पूजाआजा गरेको देखिन्छ । यस्ता कामहरू  ज्ञान विज्ञानको खोज नहुँदाका परिणाम हुन् तर ज्ञान खुल्दै गएपछि चन्द्रमा भगवान् प्रमाणित भएनन् । समयमै खोज नगरेको भए बुद्ध शुद्ध भगवान् हुन्थे । ब्रह्मा विष्णुका बारेमा पनि समयमै खोज गरेको भए ती मानव पुर्खा हुन् भन्ने स्पष्ट हुन्थ्यो । अहिले पनि तिनका तमाम गतिविधि हेर्दा ती मानव पुर्खा हुन् ।

मार्क्सवादले आर्थिक भौतिक पक्षलाई प्राथमिक मान्छ । अर्थ वा धन नै जीवनको आधारभूत कुरा हो । धन धान्यको आर्जन खेतीपाती र पशुपालन लगायत  श्रमसंघर्ष बिना प्राप्त हुँदैन । खाली पेटबाट  कुनै पनि काम हुन सक्तैन । त्यसैले माटो भएर श्रम सङ्घर्ष गरे पछि आराम गरेर पोसिलो खाने कुरा खान र रामरमितो गर्न प्रायः चाडपर्व सुरु भएको पाइन्छ । श्रमिक महिला दिवसमा हामी नै आठ घण्टा काम आठ घण्टा आराम भन्ने नारा घन्काउँछौँ । कुनै पनि  चाडपर्व ईश्वरीय उपहार होइनन् ।र ती राजा महाराजाले  सुरु गरेको पनि होइनन् । अधिकांश चाडबाड मानव जातिले सुरु गरेको र लामो समय अभ्यास गरेर नामकरण गरिएका हुन् ।

भन्नुको मतलब हामी मार्क्सवादीले कुनै पनि चाडपर्व रीति रिवाजलाई रुढीवाद अन्धविश्वासका आधारमा हेर्न मिल्दैन । समाज विकासका क्रममा मानव जातिले मानेका र मान्दै आएका कुराहरूको सत्यतथ्य खोजेर हेर्नु पर्छ र मात्र हामी  सत्यतथ्य नजिक पुग्छौँ ।   कतिपय चाड,पर्व र परम्परा  नयाँ युगको आरम्भ गर्ने खालका हुन्छन् ।  तिहार युगान्तकारी पर्व हो । एउटै आमाका सन्तानहरूका  बीच विवाह वा यौन सम्बन्ध गाँस्ने परिपाटी अन्त्य गरेको पर्व हो तिहार । श्रमिक महिला दिवस रातोदिन श्रम कर्ममा घोटेर भौतिक बौद्धिक चरम शोषण गर्ने परिपाटीको अन्त्य गर्ने पर्व हो ।  तीज पति गृहमा काम र अपमानको  असाध्यै सास्तीबाट मुक्त भएर माइतमा गएर मीठो मसिनो खाने र रमाइलो गर्ने केही दिन का लागि भए पनि  दुःख भुल्ने पर्व हो तर समयक्रममा यसमा चरम रुढीवाद र अन्धविश्वास घुसाइएको हो । त्यसैले तीज र स्वस्थानी व्रत कथा जस्ता रुढीग्रस्त परम्परालाई पनि अखिल नेपाल महिला सङ्घले नयाँपनका साथ मनाउने क्रम सुरु गरेको छ । म आफैँ अनेम सङ्घ, इटहरीको अध्यक्ष हुँदा सुरुवात गरिएको हो । रुढीबूढी ग्रस्त पर्व र चाडहरूलाई परिवर्तित सन्दर्भ अनुसार मनाउने बारे हाम्रो चासो कम रहेको छ ।

मातृ प्रधान समाजमा यौन सम्बन्ध स्वच्छन्द थियो । एउटै माताका सन्तानहरूका बीच विवाह हुन्थ्यो । आज भन्दा ५ हजार। वर्ष पुरानो ग्रन्थ  ऋग्वेदमा यम यमी नाम गरेका जुम्ल्याहा दाजु बहिनीको संवाद छ । त्यहाँ दाजुसित तरुनी भएकी बहिनी यमीले यौन सम्बन्ध गाँस्ने प्रस्ताव राख्छिन् तर दाजु यमले तिमी यसका कामका लागि अर्कै पुरुष खोज अब आइन्दा यस्तो काम गर्नु हुँदैन भनेका छन् ।  बहिनीले यमीले सृष्टिका लागि यौन सम्पर्कमा कुनै पनि बारबन्देज हुनुहुन्न र गर्नु हुन्न भन्ने मुनि मत पनि रहेको बताउँछिन् तर यमले उनका कुरा मान्दैनन् । यसरी एक समय  स्वच्छन्द रहेको यौन सम्बन्ध मानव पुर्खाहरूले अनुशासित र मर्यादित बनाए । यही क्रममा जुठो सुतक बार्ने र विवाह गर्ने सवालमा  तीन पुस्ते र तेह्र पुस्ते भनेर वर्गीकरण पनि गरे । यसरी समाजमा थिति बसाल्ने क्रममा मानव समाजले विवाह परम्परामा विधि, पद्धति र अनुशासनको खोज ग¥यो,विकास गरेको हो ।

प्रसिद्ध संस्कृतिविद् डा. जगमान गुरुङले १८९६ सालमा मुख्तियार रङ्गलालले पश्चिम नेपालको भ्रमण गर्दा त्यहाँ जैसी बाहुनहरूमा भान्जी अर्थात् फुपूकी छोरीसित मामाका छोराहरूले विवाह गर्ने प्रचलन विरुद्ध रुक्का वा आदेश पत्र जारी गरेको उल्लेख गरेका छन् । यस्ता अवशेषहरू नेपालमा अझै पनि पाइन्छ । कुमाईं बाहुन समाजमा सगोत्री विवाहको प्रचलन  भनिन्छ । दक्षिण भारतमा अझै पनि भान्जी विवाह अर्थात् मामा चेला र फुपूचेली दाम्पत्य सम्बन्ध गाँस्ने प्रचलन रहेका बताइन्छ । नेपालका कतिपय जातिहरूमा अहिले पनि मामा चेला फुपूचेला सम्बन्ध गाँस्ने परम्परा रहेको देखिन्छ  । यस्ता विषयहरू डा. पोखरेलको सङ्गत र उहाँका पुस्तकालयबाट  आफूले थाहा पाएकाले यसलाई लेखमार्फत उजागर  गरेकी हुँ । 

तिहार जस्तै चेली माइती बीच  एक अर्कामा आत्मीय र अधरपूर्ण सम्बन्ध कायम गर्ने पर्वहरूमा  सामाचखेवा, चासोक ताङनाम,  जितिया र राखी आदि पर्व आदि पर्छन् । अहिले पनि तिहारका अवसरमा यमराज वा धर्मराज बहिनी यमुनाका घरमा गएर टीका लगाएको प्रसंगमात्र उल्लेख गरिन्छ । जब कि जगमान गुरुङले यम भनेको नियम पनि हो यो यौन सम्बन्धलाई थिति बसाल्ने विषयसित पनि सम्बन्धित छ भन्नुभएको छ । उहाँले बलि राज भनेको जुम्लाको काले गाउँका कल्याण वंशी एक बलशाली वा बलिष्ठ युवालाई चन्दननाथ नाम गरेका पण्डितले राजा घोषणा गरे । अनि तिनै राजका समयमा द्यौता र द्यौताका मन्दिरमा भाकल पूरा गर्न चढाएका केटा वा केटी देवदास वा देवदासीका रुपमा परिचित भए । तिनलाई बलि राजाले अब देखि तिमीहरूले मागेर खानु वा जीविका गर्नु भनेको विषय सित तिहारको द्यौसी भैलो प्रचलनमा आएको भनाइ रहेको छ  । हुन पनि यस्तो प्रचलन त्यहीँ भारतको कुनै पनि प्रान्तमा नहुनुले पौराणिक कालको बली राजा नभएर नेपालको बलि राजाको प्रसङ्ग औचित्ययुक्त देखिन्छ ।   तिहारमा कुकुर,काग,गाई र गोरुको पूजाले कृषि र पशु व्यवसायसित सम्बन्धित मर्म,महत्त्व र पक्षहरूलाई उजागर गरेको छ ।   

चाडपर्व अन्तर्गत रहेका सर्व प्राचीन यथार्थ पक्ष र  परम्परा शिक्षाका लागि बिर्सन हुँदैन । समयक्रममा भित्रिएका अतिवादी र अन्धवादी धार्मिक र सांस्कृतिक परम्पराहरू हुबहु अवलम्बन गरेर चाडपर्वहरू आम नेपालीका लागि स्वीकार्य हुँदैनन् र तिनमा समय सापेक्ष रूपान्तरण गर्दै जानुपर्छ । संस्कृतिमा तत्कालीन राजनीतिको कुप्रभाव परेको हुन्छ । यस्ता कुप्रभाव अक्षरशः पालना गरेर गणतन्त्र सबल हुँदैन र एमालेले सोचेको र खोजेको अग्रगामी परिवर्तन हुन सक्तैन  । 

(मदन भण्डारी फाउन्डेसन,सुनसरीको यही कात्तिक १५ गते आयोजित कार्यक्रममा प्रस्तुत विषय पत्र ।) 

 

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  १ : ०२ बजे