दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

भारतमा विपक्षी राजनीतिज्ञहरूको मोबाइल फोन ह्याक गर्दै मोदी सरकार

काठमाडौँ – भारतमा वर्तमान सरकारको नेतृत्व गरिरहेका भारतीय जनता पार्टी (भाजपा) बाट प्रधानमन्त्री बनेका नरेन्द्र मोदी अधिनायकवादी बनिरहेको आरोप लाग्न थालेको छ । 

पछिल्लो केही समययता प्रधानमन्त्री मोदीले नेतृत्व गरेको सरकारले वरिष्ठ विपक्षी राजनीतिज्ञहरूको मोबाइल फोन ह्याक गर्ने, भारतीय  मिडियाहरू आफ्नो कब्जामा राख्ने, विपक्षी नेताहरूलाई जेलनेल गर्न खोजेको आरोप लाग्दै आएको हो । 

भारतीय विपक्षी नेता राहुल गान्धीले मङ्गलवार प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले एप्पल कम्पनीको आइफोन चलाउने अधिकांश विपक्षी नेताहरूको मोबाइलमा ह्याकिङको प्रयास भएको चेतावनी एप्पलबाटै आएको बताएका छन् ।

विपक्षी नेताहरूले आइफोन निर्माता कम्पनी एप्पलले पठाएको चेतावनीको स्क्रिनसट सामाजिक सञ्जालमा सार्वजनिक गर्दै  मोदी सरकारले विपक्षीलाई नियन्त्रणमा लिन अनेक जालझेल, तिगडम र प्रोपोगान्डा गर्दै आएको आरोप लगाइरहेका छन् ।

मोदी सरकारले राज्यबाट प्रायोजित गरेर ह्याकरहरूको मद्दतमा अधिकांश विपक्षी नेताहरूको आईफोन ह्याक गर्न खोजेपछि  एप्पलले उक्त कुराको जानकारी दिन आफ्नो प्रयोगकर्ताको सुरक्षाका निम्ति चेतावनीहरू पठाउन थालेपछि यो कुरा सतहमा आएको हो । रोयटर्सका अनुसार त्यहाँ भनिएको छ, ‘एप्पलले शङ्का गर्छ कि तपाईँ सरकारी–समर्थित ह्याकरहरूको आक्रमणको केन्द्रबिन्दुमा हुनुहुन्छ जसले तपाईँको एप्पल आइडीमार्फत आईफोनमा पहुँच र नियन्त्रण प्राप्त गर्ने प्रयास गरिरहेका छन् ।’

भारतमा प्रमुख विपक्षी दल काँग्रेस आईका पूर्व अध्यक्ष तथा वरिष्ठ नेता राहुल गान्धीले बुधवार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री मोदीलाई भने, ‘तपाईँले चाहेको सबैको फोन ह्याक गर्नुहोस् । तर, हामी प्रतिपक्ष तपाईँलाई प्रश्न गर्न छाड्ने छैनौँ ।’

भारतका केन्द्रीय सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले सांसदहरूको गम्भीर आरोपप्रति चिन्ता व्यक्त गर्दै एप्पललाई यस विषयको अनुसन्धानमा सामेल हुन आग्रह गरेका थिए ।

मन्त्री वैष्णवको आग्रह अनुसार एप्पलले जवाफमा भन्यो , ‘राज्य–प्रायोजित ह्याकरहरू आर्थिक र प्राविधिक स्रोतसाधनले भरिपूर्ण हुन्छन्, उनीहरू दिनदिनै शक्तिशाली बन्दै गएका छन् । यस्ता आक्रमण पत्ता लगाउने तरिका खुफिया सङ्केतहरूमा आधारित हुन्छन् र कतिपय अवस्थामा अशुद्ध र अपूर्ण हुन्छन् । यो सम्भव छ कि आक्रमणको चेतावनी दिने केही सन्देशहरू गलत हुन सक्छन्, र केही आक्रमणहरू पत्ता लगाइको नहुन सक्छ ।’

एप्पल थप भनेको छ, ‘हामीले कस्तो अवस्थामा त्यस्ता चेतावनीहरू जारी गर्छौँ त्यो खुलाउन असमर्थ छौँ किनभने त्यसो गर्दा राज्य–प्रायोजित ह्याकरहरूले भविष्यमा बच्ने उपायको विकल्प पाउनेछन् ।’ एप्पलले समग्रमा आफ्नो चेतावनी प्रणालीले सही सूचना दिने र कहिलेकाहीँ भने गलत चेतावनी पनि जान सक्ने बताएको छ ।

मोदी सरकारले यसअघि पनि इजरायलले विकास गरेको सफ्टवेयर पेगासस प्रयोग गर्दै राहुल गान्धी लगायत दर्जनौँ पत्रकार, कार्यकर्ता र राजनीतिज्ञहरूको जासुसी गरेका थिए ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  ८ : ३० बजे