यस्तो छ आजको विनिमय दर

माघको दाेश्रो साता राष्ट्रियसभाको निर्वाचन गर्ने तयारी

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले माघको दाश्रो साता राष्ट्रियसभाको निर्वाचन गर्ने तयारी भइरहेको जानकारी दिएका छन् ।

सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा थपलियाले माघको १०, ११, १२ मध्ये कुनै उपयुक्त समयमा राष्ट्रियसभाको निर्वाचन गर्ने तयारी भइरहको जानकारी दिएका हुन् । निर्वाचनको मिति सरकारले तोक्नुपर्ने भएकाले आयोग तयारी अवस्थामा बसेको उनले बताए ।

थपलियाले केही स्थानमा बैसाखमा उपनिर्वाचन गर्ने गरी छलफल थालेको पनि जानकारी दिए । उनले निर्वाचनसम्बन्धी प्रस्तावित नयाँ कानूनमा मौन अवधि हटाइएको र निर्वाचन हुनुभन्दा २४ घण्टा अगाडि प्रचारप्रचार गर्न निषेध गर्ने उल्लेख गरिएको बताए । निर्वाचनमा महिला प्रतिनिधित्वलाई प्राथमिकता दिन आवश्यक व्यवस्था गरिएको उनको भनाइ छ । थपलियाले अब योग्यता सम्बन्धी व्यवस्था गरिएको र महोत्तरी र मनाङको अवस्था नदोहरिने जानकारी दिए ।

उनले समानूपातिक सूची पेश गरिसकेपछि संशोधन गर्न नमिल्ने गरी व्यवस्थीत गरिएको पनि बताए । विदेशमा बस्ने नेपालीहरुको मताधिकारका लागि नामावली संकलन गरिने र अनलाईनबाट भोटिङ गर्न सक्ने गरी ऐन निर्माण गरिएको उनले बताए ।

बैठकमा समिति सदस्यहरुले समानुपातीक निर्वाचन प्रणाली, महिला उम्मेद्वारहरुको सुनिश्चितता, मतदाता नामावली अध्यावधिक लगाएतका बिषयमा निर्वाचन आयोगको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ४ : २५ बजे