यस्तो छ आजको विनिमय दर

क्यानडाका लागि प्रस्तावित राजदूत पौड्यालविरुद्ध उजुरी आह्वान

काठमाडौं । संसदीय सुनुवाई समितिले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्याल उपर उजुरी दिन आह्वान गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले मन्त्रिपरिषद्को कार्तिक २ गतेको निर्णयानुसार क्यानडाका लागि आवासीय राजदूत एवं क्यूवा, जमैका, डोमिनिकन रिपब्लिक र हाइटीका लागि गैरआवासीय राजदूत तथा आइकाओका लागि स्थायी प्रतिनिधिको पदमा नियुक्तिका लागि सिफारिस भएका परराष्ट्र मन्त्रालयका सचिव पौड्याल उपर उजुरीका लागि आह्वान गर्ने निर्णय गरेको हो ।

समितिका सभापति पशुपतिशम्शेर जवराले संसदीय सुनुवाइको कार्यविधिअनुसार उजुरी दिन १० दिनको सूचना जारी गर्ने निर्णय गरिएको जानकारी दिए ।

सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खोली मर्यादित भाषामा सूचना वा उजुरी दिन सकिने उनले बताए । मन्त्रिपरिषदको सिफारिसपछि परराष्ट्र मन्त्रालयले कार्तिक ३ गते सुनुवाईका लागि समितिमा पत्र पठाएको थियो ।

मन्त्रिपरिषद्ले गरेको सिफारिस संसदीय सुनुवाइले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने प्रावधान छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  १ : २६ बजे