आजको प्रश्न : भोलिको नेपाल कस्तो बनाउने ?

“नेपाल कति बन्यो भन्ने प्रश्नमा होइन,अब नेपाल कस्तो बनाउने भन्ने प्रश्नमा केन्द्रित भएर छलफल, विचार विमर्श र चिन्तनसहित नीति र कार्यक्रम तय गर्नुपर्छ। समयको माग र देशको आवश्यकता पनि यही हो। विगतको समीक्षा गर्दै जाउँला । तर, यो भन्दा पहिले आज के गर्‍यो भने भोलिको नेपाल उज्ज्वल बनाउन सकिन्छ भन्ने दृष्टिकोणबाट हामी निर्देशित हुनुपर्छ।”

विगतलाई दोष दिएर भविष्य उज्ज्वल बनाउन सकिँदैन भन्ने चेत हामीमा आउनुपर्छ। यसका साथै नयाँ पुस्तालाई देश चिनाउने र देश समृद्ध बनाउने ढङ्गले प्रशिक्षित गरिरहनुपर्छ। यसका लागि आजको शिक्षा व्यवस्थाबाट सम्भव छैन। यो यथार्थ हामीले बुझ्नुपर्छ र बुझाउन सक्नुपर्छ।

अपेक्षित गतिमा विकास नहुनु, विकास गुणस्तरीय नहुनु र भएको वा भइरहेको विकास पनि नदेखिनु वा नभनिनु अनि सामाजिक मनोविज्ञान नकारात्मक बन्नुका पछाडिका कारणहरू हामीले थाहा पाउनुपर्छ। राजनीति र राजनैतिक व्यवस्थालाई मात्रै दोष दिएर हुँदैन। राजनैतिक तथा संवैधानिक व्यवस्थामा परिवर्तन गरेपछि हामीले शैक्षिक, आर्थिक, प्रशासनिक र न्यायिक व्यवस्था र नीतिमा पनि सोअनुकुलको परिवर्तन गर्नुपर्थ्यो। तर,यथास्थिति मै देशको अवस्थामा परिवर्तन ल्याउन सकिने गलत निष्कर्षका साथ काम गर्न खोज्दा जनअपेक्षाहरू उपेक्षा हुने परिस्थिति बन्यो र कायम पनि भइरह्यो।

यो निराशाजनक परिस्थितिले एकातिर जनमनोविज्ञान नकारात्मक बन्न सघायो भने अर्कातिर देशमा भ्रष्टाचार, अराजकता र स्वछन्दता मौलायो। यही नकारात्मक जनमनोविज्ञान र भूमिकाका कारणले अहिले हामीलाई भोलिको नेपाल कस्तो बनाउने भन्ने प्रश्नमा केन्द्रित हुन दिइरहेको छैन। यो यथार्थ हामीले बुझ्न र बुझाउन पनि सकिरहेका छैनौँ।

“भोलिको नेपाल कस्तो बनाउने भन्ने कुरा आजको शिक्षा कस्तो भन्ने कुराले निर्धारण गर्छ। तर,हामी भने शैक्षिक मुद्दामा होइन, अनावश्यक फण्डाहरूमा रमाएर भ्रमित हुँदै गलत निष्कर्षमा पुग्ने गरेका छौँ। जसले गर्दा सामाजिक मनोविज्ञान भ्रमित बनाउँदै गलत भाष्यका साथ प्रगतिशील विचारसहितको लोकतान्त्रिक राजनीतिलाई बलियो बनाउन सकिरहेका छैनौँ।” 

भ्रमित मनोविज्ञानले हामीलाई भविष्य हेरेर वर्तमानमा ठिक गतिका साथ कार्यशील हुन दिँदैन। यो नै आजको हाम्रो मुख्य समस्या हो। त्यसैले समस्या बुझेर विचार बनाउन नसक्दासम्म राजनीतिक नेतृत्वले पनि भोलिको नेपालको असल चित्रसहित समृद्ध नेपालको परिकल्पना गरेर अघि बढ्न सक्ने अवस्था छैन। नेतृत्वको यो कमजोरी र बाध्यता बुझेको देश विरोधी बाह्य तथा आन्तरिक शक्तिहरूले यति बेला फेरि राजनैतिक तथा संवैधानिक व्यवस्था बदल्ने अर्को प्रयास गर्दैछन्।

त्यही शक्तिको बलमा यतिखेर “विचारभन्दा माथि देश र देशभन्दा माथि नरेश” भन्ने पात्रहरूले राष्ट्रपतिलाई अपराधपतिको संज्ञा दिँदै निर्मल निवासमा पूर्व प्राविधिक राजा ज्ञानेन्द्रको पाउमा परेको अवस्था पनि देखियो। जबकि निर्मल निवास पनि प्रवीण गुरुङको हत्यासँग जोडिएको छ। यति बेला “इमानमा बस्न र सत्यको पक्षमा उभिने र देशको स्वार्थको पक्षमा क्रियाशील हुने वातावरण बन्न सकेको छैन। किनभने सञ्चार र सञ्जालले पनि बेइमान, असत्य र राष्ट्रघातको पक्षमा पैरवी गर्दा जनताले पनि इमान र विचारको राजनीति रोज्न, सत्यको बाटोमा हिँड्न अनि देशको स्वार्थमा आफ्नो अभिमत दिन नसकेको अवस्था छ।”

जनताको यो कमजोरी बुझेको लोकप्रियतावादी कम्फर्टेबलवादले रङ र डेरा बदल्दै कहिले क्रान्तिकारी त कहिले देशभक्त बनेर जनतालाई झुक्क्याउँदै देश घात गरिरहेको छ। कहिले उनीहरू अति वामपन्थी भइदिन्छन् त कहिले अति दक्षिणपन्थी नवउदारवादको भरिया बन्न पाएकोमा रमाउँछन्। हिजोआज त उनीहरू कम्फर्टेबल सत्ताको सहयोगी भएर परिपूर्ण लोकतन्त्रको विपक्षमा मात्र उभिएका छैनन् बाह्य स्वार्थमा कम्फर्टेबल सत्ता सञ्चालन पनि गरिरहेका छन्।

हामी जनता पनि देशको परिस्थिति बदलिएन भन्छौँ तर आफ्नो मनस्थिति सकारात्मक र रचनात्मक बनाउँदैनौँ। अनि, राजनीतिक नेतृत्वलाई मात्र खराब देख्छौँ । आफू असल हुन नसकेको आत्मबोध गर्दैनौँ। समस्या हाम्रो सोच र व्यवहारमा छ। मतलब, हामी खराब शिक्षा व्यवस्थाबाट प्रशिक्षित भइरहेका छौँ । र, सामाजिक सञ्जालमा अराजक भएर समाजमा असल देखिन खोज्दैछौँ। फेरि हाम्रो चेतना र विवेकले राजनीतिमा आएका नयाँ पात्रहरूको चरित्र नचिन्दा रवी लामिछाने र  ज्ञानेन्द्र शाहीलगायतका खराब पात्रहरू गएको निर्वाचनमा जनप्रतिनिधिका रूपमा जित्न सफल भए। आज यिनीहरूकै बलमा ज्ञानेन्द्र शाहमा फेरि पनि राजा बन्छु भन्ने परिकल्पनाका साथ सक्रिय हुन खोज्दैछन्।

हाम्रो चेतना र विवेकले खराबमा असल, चरित्रहीनमा आदर्श, नैतिकहीन नेतृत्वबाट असल नीति र विचारहीनहरूबाट दृष्टिकोण खोज्दै छ। यसको मतलब हाम्रो चेतना र विवेक मै समस्या छ। तर,दोष भने अन्तै देख्दैछौँ। यस मौकालाई उपयोग गरेर रवीन्द्रदेखि रवी, ज्ञानेन्द्र शाहीदेखि ज्ञानेन्द्र शाह अनि लिङ्देनदेखि कमलहरू गणतन्त्रको विकल्प राजतन्त्र भन्दैछन् । यसबाट स्पष्ट हुन्छ, हामीले व्यवस्था बदल्यौँ तर सोच, नीति र व्यवहार पुरानै बोक्न अझै छोडेका छैनौँ। शिक्षालयदेखि न्यायालयको संरचना पुरानै कायम राखेर देशको अवस्था नयाँ बनाउने परिकल्पनामा रमाइरह्यौँ। जुन सम्भव थिएन। नयाँ बोतलमा पुरानो रक्सी भने जस्तै भइरहेको छ। यथार्थ यही हो, तर आफूलाई बौद्धिक विश्लेषक भन्नेहरू ‘पृथ्वीनारायण शाहलाई डाँकाहरूको सरदार” भनेर राष्ट्रनिर्माताको अनादर गर्नमा व्यस्त छन्।

नेपालको सबैभन्दा ठुलो समस्या भनेको नै हामी नागरिकको नकारात्मक र भ्रमित मनोविज्ञान हो। देशको अवस्था बदलिएन भन्छौँ, विदेशी भूमि हराभरा र झिलिमिली  बनाउन परिश्रम गर्छौँ, स्वछन्दता र अराजकतालाई क्रान्ति र परिवर्तन ठान्छौँ अनि विचारहीन राजनीतिमा रमाउँछौँ र चरित्रहीन नेतृत्वलाई महान् ठान्छौँ।

हामीले बुझ्नुपर्छ, “नागरिकता उताको बोक्ने अधिकार यताको खोज्ने प्रवृत्तिले देश समृद्ध बन्न दिँदैन।” त्यसैले आज सञ्चार माध्यमदेखि लिएर सामाजिक सञ्जालहरूमार्फत “भोलिको नेपाल कस्तो बनाउने” भन्ने प्रश्नलाई प्राथमिकताका साथ उठाउनु पर्ने भएको छ। यही प्रश्नमा केन्द्रित भएर आज हामीले क्रियाशील हुन र राजनीतिलाई सोहीअनुसार डोर्‍याउन सक्नुपर्छ। अन्यथा देशको अवस्था अझ बिग्रिएर जनतामा निराशा र वितृष्णा अरू बढ्ने छ। जसले लोकतान्त्रिक गणतन्त्रविरुद्ध क्रियाशील शक्तिहरूको आत्मबल बढाउन सहयोग गर्नेछ।

 

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  १ : १३ बजे