यस्तो छ आजको विनिमय दर

छड्के अनुगमनमा १३१ जना कर्मचारी अनुपस्थित

सुर्खेत। जिल्ला प्रशासन कार्यालयले गरेको छड्के अनुगमनमा जाजरकोटका १३ कार्यालयका १३१ जना कर्मचारी अनुपस्थित रहेको पाइएको छ। 

प्रशासनले आइतवार गरेको अनुगमनका क्रममा १० कार्यालयका कार्यालय प्रमुखसहित आधाभन्दा बढी कर्मचारी अनुपस्थित रहेको पाइएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए।

प्रमुख जिल्ला अधिकारी सुनारका अनुसार अनुगमन गरिएका १३ कार्यालयमध्ये ३ वटा कार्यालय प्रमुख मात्र कार्यालयमा उपस्थित रहेका थिए। 

स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. प्रतीक्षा भारती, भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दलबहादुर घर्ती र मालपोत कार्यालयका प्रमुख डिल्लीबहादुर केसीमात्र कार्यालय प्रमुखको रुपमा कार्यालयमा भेटिएको तर अन्य १० कार्यालय प्रमुख हाजिरी रजिष्टरमा बिदा नै नजनाई अनुपस्थित रहेका थिए।

स्वास्थ्य सेवा कार्यालय, वन डिभिजन कार्यालय, भेरी नगरपालिका, जिल्ला हुलाक कार्यालय, वृहत जलाधार कार्यालय, सिँचाइ तथा नदी नियन्त्रण कार्यालय, खानेपानी, ऊर्जा तथा सिँचाइ कार्यालय, सामाजिक विकास कार्यालय, पूर्वाधार विकास कार्यालय, नापी कार्याय, भेरी करिडोर सडक आयोजना, मालपोत कार्यालय र जिल्ला समन्वय समितिको कार्यालयमा छड्के गरिएको थियो। 

तीमध्ये सबैभन्दा धेरै स्वास्थ्य सेवा कार्यालयमा ३७ जना र त्यसपछि भेरी नगरपालिकामा २७ जना कर्मचारी अनुपस्थित रहेका थिए। 

दशैं बिदा मनाउन घर गएका धेरैजसो कर्मचारी कार्यालयमा नफर्केपछि सर्वसाधारण मर्कामा परेका छन्। दशैँ बिदापछि गत शुक्रवार नै कार्यालय खुले पनि हालसम्म आधाभन्दा बढी कर्मचारी अझै कार्यालयमा उपस्थित भएका छैनन्।

सरकारी कर्मचारीलाई नागरिकप्रति उत्तरदायी र जिम्मेवार हुन प्रजिअ सुनारले आग्रह गरेका छन्। उनले दशैँ मनाउन घर गएका कर्मचारीलाई बिदा वा काजको बहानामा उतै नबस्न र तत्काल कार्यालयमा उपस्थित भइ काम गर्न निर्देशन दिएका छन्। 

छड्केमा गएको प्रशासनको टोलीले अनुपस्थित कार्यालय प्रमुख र कर्मचारीको हाजिरीमा रातो चिह्न लगाएको छ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  १० : ५५ बजे