यस्तो छ आजको विनिमय दर

मदन भण्डारीको सालिक तोडफोड गर्नेलाई कारबाही गर्न प्रहरीमा जाहेरी

​​​​​​​रामेछाप । नेकपा एमाले खाँडादेवी गाउँपालिका कमिटीले सो गाउँपालिकाको मदन भण्डारी पार्कमा राखिएको मदन भण्डारीको सालिक तोडफोड गर्नेलाई कारबाहीको माग गरेको छ । 

नेकपा एमाले खाँडादेवी गाउँपालिका कमिटीले दोषी माथि कारबाहीको लागि प्रहरी समक्ष लिखित जाहेरी दिएको छ । नेकपा एमाले खाँडादेवी गाउँपालिका कमिटी अध्यक्ष पुष्करकुमार कार्कीले शुक्रबार इलाका प्रहरी कार्यालय खाँडादेवीमा लिखित जाहेरी दिनुभएको हो । 

खाँडादेवी गाउँपालिका–५ पकरबासको सल्लेनी वनमा निर्माण गरिएको मदन भण्डारी पार्कमा रहेको भण्डारीको सालिकमा कात्तिक ५ गते राति अज्ञात व्यक्तिले ढुङ्गा तथा घन लगायत सामग्री प्रयोग गरी सालिकको खुट्टामा प्रयोग गरिएको जुत्ता भाँची लिएर गएको, सालिकको टाउको, अनुहार, पिठ्युँ लगायत धेरै ठाउँमा चोट लागेको तथा सालिकको जोर्तीहरू चर्किएको निवेदनमा उल्लेख छ । 

निवेदनमा उक्त कार्य असामाजिक र आपराधिक भएको उल्लेख छ । ‘अपराधी तथा अराजक व्यक्तिहरूलाई यथाशीघ्र खोजतलास र अनुसन्धान गरी कानुनी दायरामा ल्याई कारबाई गर्नको लागि नेकपा एमाले खाँडादेवी गाउँपालिका कमिटी पार्टी परिवार जोडदार रूपमा माग गर्दछ’, प्रहरीमा दिइएको जाहेरीमा उल्लेख छ । 

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार  ३ : ४४ बजे