ओलीमाथिको निराधार आरोप : व्यवस्था विरोधीको रुन्चे रोदन

यत्तिखेर राजावादी र तीनका पिछलग्गूहरुले नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली माथि एक निराधार आरोप लगाइरहेका छन् । भारतीय एक मिडियाले नाकाबन्दीको डटेर सामाना गरेका अध्यक्ष ओलीलाई बदनाम गर्न चार पाँच वर्ष अघि प्रायोजित प्रोपोगान्डा गरेको पुरानो समाचारको लिङ्कको सहारा लिएर उनीहरूले ओलीमाथि निराधार विष वमन गरेका हुन्  । 

पूर्व प्रधानमन्त्री ओलीलाई कहिले चिनियाँ तत्कालीन राजदूतसँग त कहिले कम्बोडियाको टेलिकम कम्पनीमा लगानी छ भनेर गरिएको उक्त कू–प्रचार स्वंयम उक्त मिडियाले नै खण्डन गरिसकेको बर्षौ बितिसक्दा पनि आखिर उक्त फेक न्युजलाई उनीहरूले किन फेरी यसरी उछाले त ? विचारणीय विषय हो । 

हो यत्तिखेर मुलुकको आर्थिक अवस्था राम्रो छैन, गठबन्धनकारी दलहरूले जतिसुकै जोडजाड गरेर बनाए  पनि र जतिसुकै बखान गरेर टिकाउने कुचेष्टा गरे पनि वर्तमान गठबन्धनको सरकारले जनतालाई दिनु पर्ने कुनै पनि सेवा, सुविधा र डेलिभरी दिन सकेकै छैन । बढ्दो महँगी, तस्करी र अराजकतासँगै जनतामा बढ्दो निराशा छाइरहेको छ ।  परिवर्तनको आकाङ्क्षा र विकासप्रतिको उत्कन्ठ चाहानालाई गठबन्धनकारी सरकारले पुरै व्यवस्था गरिदिँदा जनतामा यो समय सरकारप्रति व्यापक वितृष्णा बढिरहेको छ । यही चाल पाएका राजावादीहरू पनि कहिले धर्मका नाउँमा त कहिले  व्यवस्था विरुद्ध हौवा पिटेर आफ्नो अभिष्ठ पुरा गर्ने दिवास्वप्नमा छन् । राजावादीहरूको यही सपनामा बेलाबेला ठेस लागिरहेका छन् एमाले अध्यक्ष केपी शर्मा ओली । किनभने ओली गठबन्धनकारी दलहरूसँग जति आक्रामक देखिनुहुन्छ त्यति नै आक्रामक राजावादी,कट्टरपन्थी र दक्षिणपन्थीहरूसँग पनि देखिरहनु भएको छ । 

हिजो नाकाबन्दीको सामाना गर्नु भएका र विस्तारवादीहरूको निसानामा पर्नुभएका ओली देशी  विदेशी शक्तिकेन्द्र र तीनका घरेलु दासहरूको निसानामा त पर्नु नै भएको थियो । ओलीको यही स्वभाव र निडरताको कारण यत्तिखेर राजावादीहरूको निसानामा पनि एमाले अध्यक्ष ओली नै पर्नु भएको छ ।  

हो लिपुलेक मुद्दालाई ओझेलमा पार्न तत्कालीन विस्तारवादीहरूले कहिले तत्कालीन चिनियाँ राजदूत होउ यान्छीसँग त कहिले कम्बोडियाको टेलिकममा लगानी गरेको आरोप लगाएर आपत्तिजनक शब्द र भाषामा ओली विरुद्ध झुटो समाचारको रिपोर्ट बनाएका थिए । आज त्यही रिर्पोटको हवाला दिँदै  राजावादीहरूले पनि आफ्नो स्वार्थको रोटी सेक्ने प्रयास गरेका हुन् ।  

जसले जतिसुकै झुटो प्रचार गरे पनि  परिवर्तनका नायक, राष्ट्रवादी र विकास प्रेमी नेता ओली नै हुन् । उनीमाथि जतिसुकै कटाक्ष गरिरहे पनि  यत्तिखेर बहुमत जनता ओलीकै पक्षमा छन् । ओली विरुद्ध गठबन्धनकारी हुन् या राजावादीहरू जो सुकैले जसितसुकै घेराबन्दी र मोर्चा बन्दी गरे  पनि उनी अहिलेका नेतामध्ये सबैभन्दा सर्वप्रिय छन् ।  जतिसुकै विष वमन गरिए पनि इमानदार मान्छेहरूका मनमनमा ओली नै छन् ।

हो एमाले महासचिव शंकर पोखरेलले भनेझैँ वैचारिक र राजनीतिकरुपमा स्खलित भएकाहरूको हतियार नै भ्रम सिर्जना गर्नु हो, नेपालमा सुशासन र विकासका प्रश्नमा सबैभन्दा योग्य देखिएको व्यक्ति माथि गरिएका यस्ता प्रहारलाई हामीले पनि त्यही अर्थमा बुझ्नु पर्ने हुन्छ । 

हुन त दुर्गा प्रसाईँ नाम गरेका व्यक्ति आफैमा विवादित व्यक्ति हुन् । आफ्नो स्वार्थका लागि कहिले माओवादी, कहिले एमाले र कहिले राजावादी हुन किन्चत लाज सरम नमान्ने कुनै आदर्श र सिद्धान्त नभएको व्यक्ति हो प्रसाईँ । आफ्नो व्यापारिक दुनो सोझो नभएपछि कहिले माओवादी र पछि एमाले बनेको प्रसाईँ यत्तिखेर राजावादीको पाउँ मोल्न तल्निन छन् । राजनीतिका आँडमा आफ्नो व्यक्तिगत स्वार्थ पुरा नभएपछि प्रसाईँ यत्तिखेर जनता भड्काउन कहिले धर्म त कहिले ऋण लिएको पैसा नै नतिर्नु पर्ने काइते भाषण गरेर व्यवस्था नै बदलिदिने हुँकार गर्दै डुक्रिरहेका छन् । 

आफूले लिएको कयौँ करोड ब्याङ्कको ऋणको साँवा र ब्याज तिर्न नसकेको प्रसाईँ स्टोनबाजीका लागि यत्तिखेर अनेकौँ कर्तुत र फन्डा गरिरहेका छन् । हुन त आफ्नो व्यक्तिगत स्वार्थका लागि कहिले धर्म त कहिले राष्ट्रियताको दुहाई दिँदै अन्टसन्ट बोल्दै बर्बराउने यस्ता चरित्रहिन पात्रले बोलेका विषयमा विचार विमर्श गर्नु नै गलत हो । उनी सामाजिक सञ्जालमा व्यक्ति स्वीकार्य नभएका तर अनेक फण्डा बोल्ने भएकाले गालीका कमेन्ट, रिसका रियाक्ट र हेर न यो के बोलिरहेको छ, भन्ने नकारात्मक तर्कसँगै फैलावटमा उनी पर्छन् । उनका भिडियो, बोली, तस्बिरमा देखिएको सामाजिक बाढी त्यही छ ।चर्चाका लागि जे पनि बोल्ने प्रसाँईले आफुले कालोमासो खाएको झोकमा  केही दिन अघि एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री ओलीको “कम्बोडियाको टेलिकममा अर्बौँ लगानी छ” भनिदिए । त्यति मात्र हैन, ओलीको शारीरिक अवस्थालाई समेत  खिसिट्यूरी गर्न भ्याए। न्वारनदेखिको बल लगाउँदा पनि बरु सत्तापक्षधरहरु हच्किँदा ओली यो व्यवस्थाको पक्षमा शतिशाल झैँ उभिएकोमा प्रसाँई जस्ता राजावादीहरूको मुटु पोल्नु स्वाभाविक हो । आफ्नो कुन्सित स्वार्र्थका लागि रुप फेरिरहने प्रसाँइ जस्ता जमातले ओलीमाथि विषवमन गर्नुको प्रमुख कारण त्यहि नै हो । 

ओलीको विपक्षका कित्तामा रहेका र वर्तमान व्यवस्था विरोधीका लागि प्रसाँईकाे त्यति मसला पाएपछि अरू के चाहिन्थ्यो ? त्यसपछि नै प्रसाईँका त्यस्तै क्लिप र तस्बिर राखेर ओलीलाई अनेकौँ गाली सुरु भयो । तर सामाजिक सञ्जालको वजन जाँच गर्दा त्यो खासै ठुलो सङ्ख्यामा छैन । केही हेटरहरुको सङ्ख्याले दिनरात पोस्ट गरेको गरेकै कारण केही बाढी जस्तोदेखि पनि सत्य डग्दैन झुटो टिक्दैन भनेझैँ बिस्तारै हुँदैछ । तर पनि ओली माथिको प्रहार यो देशलाई परिवर्तन गराउन चाहाना आम नेपालीमाथिको आक्रमण हो भन्ने कुरा भुल्नु हुँदैन। 

याद रहोस् झुटको खेती गरेर सामाजिक सञ्जालमा धमिलो बाढी सृजना गरेर आत्मरतीमा रमाउनेहरूका लागि यो कदम एकदनि निक्कै महँगो पर्ने निश्चित छ । 

हो  नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग कम्बोडियाको सरकारसँग विशेष सम्बन्ध छ । ओलीको उही सम्बन्धका कारण उहाँ कम्बोडियाको चुनाव पर्यवेक्षणमा समेत जानुभएको हो । 

दुर्गा प्रसाईँ जस्ता अवशरवादीहरुले ओलीको कम्बोडिया  त्यही भ्रमणलाई जोडेर यत्तिखेर आफ्नो झुटको खेती सपार्ने चेष्टा गरेका मात्र हुन् । राजनीतिक लाभका लागि फैलाइएको यस्तो अतिरञ्जना व्यवस्था विरोधीको रुन्चे रोदन सिवाय अरू केही हैन । झुटको फेहरिस्तमा चलाइएको यस्तो कमसल चतुर्‍याइँ पानीको फोका सिवाय केही हैन । सत्ता स्वार्थका लागि जस्तोसुकै चलखेल र झुट फैलाउन खोजे पनि त्यस्तो झुटको आयु छोटो हुन्छ र समयसँगै व्यर्थ हुने नै छ । 

राजनीतिमा टाँटपल्टेकाहरुको निसानामा सबै नेपाली नेतालाई यस्तो झुटो लाक्षना लाग्ने  गरेको छ । अध्यक्ष ओलीको विषयमा गरिएको यस्तो अनावश्यक लाञ्छना र विष वमन पनि त्यसकै निरन्तरता हो । 

हो विकास र आर्थिक समृद्धिको नेतृत्व ओलीबाट मात्र सम्भव छ । समकालीन अरू नेताबाट यो सम्भव छैन । अहिलेको मुलुकको अवस्थाप्रति जनतामा विदेष फैलाइएर व्यवस्था उल्टाउने कुचेष्टा भए पनि अन्तमा जनमानसमा ओली प्रतिको आकर्षण झन् बढ्ने नै देखेर प्रतिगामीहरू ओली विरुद्ध खनिएका हुन् । झापामा जातीय पक्षधरसँग मिलेर प्रसाईँका चेला चपेटाहरूले एमाले माथि गरेको आक्रमणबाट पनि उनीहरूको स्वार्थ बुझ्न गाह्रो पर्दैन । 

हो झिँगाको श्रापले डिँगा मर्दैन । केपि ओली आफैमा बाघ हुन् विरोधीका स्याल हुइयाँले केही फरक पार्दैन ।

 

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  २ : ३० बजे