प्रतीकात्मक रावण वध सम्पन्न

महोत्तरी । बडादसैँ (मधेसमा दशहारा भनिन्छ) पर्वमा देवी दुर्गाको पूजाआराधना गर्ने परम्पराबीच महोत्तरीको भारतीय सीमावर्ती मुख्य नाका मटिहानीमा रामायणगाथा गाइन्छ । मटिहानीमा बर्सेनि ‘रावण वध’ मेला नै आयोजन गरेर नवरात्रभरि रामायण पाठकीर्तन गरेर दशमीका दिन रावणरूपी दुष्ट प्रवृत्तिको अन्त्य भएको खुसियालीमा उत्सव मनाउने यहाँको पुरानो परम्परा हो ।

नवरात्रभरि (असोज शुक्लपक्ष लागेदेखि नै) राम–रावणको घमासान युद्ध भएको र दशमीका दिन मर्यादा पुरुषोत्तम श्रीरामले रावणलाई ढालेको विश्वासमा मटिहानीमा रावण वध मेलाको आयोजना परम्परादेखि गरिँदै आएको छ । त्यहाँ निर्मित अजंगको रावण प्रतिमालाई दशमीका दिन सूर्यास्तअघि श्रीरामको भूमिकाका कलाकारले तीर (धनुषवाण) हानेर लडाएपछि विजयोत्सव मनाउँदै मेला सम्पन्न हुने परम्परा रहेको मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले बताए ।

यसै परम्पराअनुसार मंगलबार सन्ध्याअघि प्रतीकात्मक रावण वध सम्पन्न गरिएको हो ।  रावण वध मेलामा टाढाटाढाबाट साधुसन्त सहभागी हुने गरेका छन् ।

वर्षाकाल बितेपछि शरद् ऋतु लागेसँगै श्रीराम सीताजीको खोजीमा लंका पुगेका र रावणसँग युद्ध गरेर सत्य स्थापित गरेको विश्वासमा यहाँ मेला परम्परा चल्दै आएको हो ।

रावण वध मेलाका अवसरमा असोज शुक्ल प्रतिपदादेखि नै रामचरित मानस (श्री सन्त तुलसीदासविरचित रामायण महाकाव्य) पाठ गरिने परम्परा छ । रावण वध भएपछि साधुसन्तलाई भोजन गराई दक्षिणा दिने र श्रीराम कीर्तन गर्दै उत्सव मनाउने यहाँको चलन छ ।

श्रीरामले रावणको संहार गरेको र देवीले महिषासुरसहितका दैत्यको मर्दन गरेको चन्द्रमासका गणनाले एउटै पक्ष परेको विद्वान्हरूको मत छ । देवीको लडाइँ सत्ययुगमा र श्रीरामको त्रेतायुगमा भए पनि दुवै लडाइँ असोज शुक्लपक्षमै भएकाले विजयादशमीमा रावण वध मेला आयोजन हुने गरेको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण संस्कृत क्याम्पस (विद्यापीठ)का मैथिली भाषासाहित्यका उपप्राध्यापक मनोज झा ‘मुक्ति’को भनाइ छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८०, मंगलबार  ७ : ११ बजे