इजरायलमा मृत्यु भएका चार विद्यार्थीको शव आफन्तले बुझे

धनगढी – इजरायलमा हमास आक्रमणमा परी मृत्यु भएकामध्ये चार विद्यार्थीको शव आज आफन्तले बुझेका छन्। 

एयर बसमा धनगढी ल्याइएको शवलाई आज बेलुकातिर धनगढी विमानस्थलबाट आफन्तले बुझेर लगेका हुन्। इजरायलमा मृत्यु भएका जोशीपुर गाउँपालिका-५ मैनापोखरका आशिष चौधरी, घोडाघोडी नगरपालिका-४ का नारायणप्रसाद न्यौपाने, दार्चुला मालिकार्जुन-४ का लोकेन्द्रसिंह धामी, लेकम-५ को दीपेशराज विष्टको शव इजरायलबाट ल्याइएको हो। 

मृतक सबैका आफन्तले शव बुझेर लगेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । शव बुझ्नेक्रममा मृतकका आफन्तलाई नेपालका लागि इजरायली राजदूत हनान गोडेरले भेटघाट गरेको उहाँले जानकारी दिनुभयो।  

लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान क्याम्पसबाट इजरायल गएका १० जना विद्यार्थीको हमास आक्रमणमा परी मृत्यु भएको थियो । मृत्यु भएकामध्ये सात जना सुदूरपश्चिम प्रदेशका रहेका छन् । मृतक अरुको शव ल्याउन बाँकी रहेको छ । 

यसैगरी, कञ्चनपुरका विपिन जोशी बेपत्ता रहनुभएको छ । सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना विद्यार्थी अध्ययनका लागि इजरायल गएका थिए । 

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  ९ : ०७ बजे