पाल्पामा जीप दुर्घटना : ६ जनाको मृत्यु

पाल्पा – पाल्पाको सदरमुकाम तानसेनदेखि पर्यटकीय क्षेत्र रानीमहल जाँदै गरेको जिप बैकुन्ठे पहाडबाट तल बराङ्गदी खोलामा खस्दा ६ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। प्रहरीले ६ जनाको मृत्यु भएको पुष्टि गरेको र जिपका चालक घाइते भएको जनाएको छ। 

मृत्यु हुनेमा तीन महिला, दुई बालक र एक पुरुष रहेका छन् । मृतकको परिचय भने नखुलेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ। वाग्मती प्रदेशको ७२०९ नम्बरको जिप दुर्घटनामा परेको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतकको सनाखत हुन सकेको छैन। जीप खोलामा खसेकाले प्रहरीले उद्धार कार्य गरिरहेको छ।

 बैकुण्ठ पहाडबाट सय मिटर भन्दा लामो छाँगो रहेको र उद्दारमा कठिनाइ भएको प्रहरीले जनाएको छ।

बैकुन्ठे भीरमा ग्रेड नमिलेको र ठाडै उकालो सडक रहेको छ। छेउतर्फ सुरक्षाका लागिसमेत कुनै सतर्कता अपनाइएको छैन भने केही समययता सडकसमेत बिग्रेर छियाछिया बनेको छ। दुर्घटनास्थल सदरमुकाम तानसेनदेखि ११ किलोमिटर टाढा पर्छ।

तानसेनदेखि १३ किलोमिटर टाढा रहेको रानीमहलसम्म लुम्बिनी प्रदेश सरकारको सहयोगमा गतवर्ष कालोपत्रे सकिएको हो ।

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  ८ : ०२ बजे