राष्ट्रपति पौडेलले दसैंको टीका ९१ वर्षिय भाउजूको हातबाट लगाउने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षीया भाउजू विष्णुमाया पौडेलको हातबाट यसवर्षको दसैँको टीका लगाउने भएका छन् ।

पौडेलले बिहान ११ बजेर २ मिनेटको साइतमा भाउजू विष्णुमायाको हातबाट टीका-जमरा र आशीर्वाद दिने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । त्यसपछि परिवारका सदस्यहरूलाई टीका लगाइदिने कार्यक्रम छ ।

विजया दशमीको दिन राष्ट्रपतिले सर्वसाधारण तथा अतिविशिष्ट र विशिष्ट व्यक्तिहरूलाई समेत टीका लगाइदिने कार्यक्रम तय भएको छ । शीतल निवासमा अपराह्न २ देख ३ बजेसम्म विशिष्ट र ३ देखि ५ बजेसम्म सर्वसाधारणलाई टीका लगाइदिने बताइएको छ ।

सचिवालयलका अनुसार सर्वसाधारणलाई टीका लगाउन राष्ट्रपति भवनको मूल ढोकामा सहजरूपमा प्रवेशको व्यवस्था गरिनेछ । टीका ग्रहणका लागि मर्यादित पोशाकमा आउन शीतल निवासको अनुरोध छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  ११ : ३२ बजे